विराटनगर । खोटाङ सामाजिक सेवा मञ्चले मासिक स्रष्टा सम्मान तथा रचनावाचन कार्यक्रमको अवसरमा वरिष्ठ गायक सिताराम पोखरेललाई सम्मान गरेको छ । कार्यक्रममा कोशी प्रदेशका खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्री एकनारायण कार्कीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली गीत संगीतमा तीन दशकभन्दा लामो समयदेखि योगदान पुर्याएको भन्दै गायक पोखरेललाई दोसल्ला ओढाएर सम्मान गरे ।
यस अवसरमा खोटाङ सामाजिक सेवा मञ्चका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ र पूर्वमन्त्री जीवन घिमिरेले गायक पोखरेलले नेपाली संगीतको उन्नयनमा पुर्याएको योगदानको प्रशंसा गरे । गायक पोखरेलले नेपाल आयल निगमका पूर्वनिर्देशक र रेडियो नेपालका पूर्वसञ्चालक समिति सदस्यका रूपमा पनि काम गरिसकेका छन् । उनी म्युजिक भिडियो निर्माण र प्रवर्द्धनमा समेत अतुलनीय योगदान पुर्याउँदै आएका छन् ।
सम्मान कार्यक्रममा कवि तथा साहित्यकारहरू पुण्य चौलागाईं, नवराज पोखरेल ‘नवशिला’, भूपाल अधिकारी, ऋषि तिवारी, उमेश लुइँटेल, हरि कट्टेल, विद्या अनामिका तिवारी, उमानाथ भट्टराई, प्रतिमा निरौला, मधु पोखरेल, शारदा भट्टराई, बाबुराम पोखरेल, नानूमैयाँ दाहाल, लक्ष्मी युग्मी, चुडामणि धिमिरे, गोपाल, रोहिणी रसिकलगायत दुई दर्जन कविहरूले काव्यात्मक प्रस्तुति दिए ।
कार्यक्रमले नेपाली साहित्य र संगीतको संगमको रूपमा विशेष महत्व बोकेको आयोजक मञ्चले जनाएको छ ।




