वीरगंज । बालविकासदेखि प्रावि तह (कक्षा ५) सम्म नि:शुल्क ट्युशन पाउने दलित बालबालिका चिसो मौसममा पनि खुला आकाशमुनि पढ्न बाध्य भएका छन् । पर्सा जिल्लाका दुई स्थानीय तहका पाँच स्थानमा ट्युशन सञ्चालन भइरहेपनि उपयुक्त स्थानको अभावमा बालबालिकाहरूले बोरा बिछ्याएर सडकमा ट्युशन लिइरहेका छन् ।
सखुवाप्रसौनी गाउँपालिकाका चार स्थान र वीरगंज महानगरपालिकाको एक स्थानमा मुसहर, चमार, दुसाध, मुस्लिम समुदायका बालबालिकालाई नि:शुल्क ट्युशन दिइँदै आएको छ । ट्युशनका लागि अमेरिका र अस्ट्रेलियामा रहेका नेपालीहरूको सहयोगमा फाउन्डेशनले आर्थिक व्यवस्थापन गरेको छ । स्थानीय पालिकाहरूले भने हालसम्म कुनै सहयोग नगरेको बताइएको छ ।
नि:शुल्क ट्युशनको सुरुआतसँगै विद्यालयमा दलित बालबालिकाको उपस्थिति र शैक्षिक सुधारमा सकारात्मक प्रभाव देखिएको छ । विद्यालयमा टिकिरहने बालबालिकाको सङ्ख्या ७० प्रतिशतले बढेको र उत्तीर्ण दर ६० प्रतिशतले सुधारिएको छ । ट्युशनले दलित बालबालिकाको शिक्षामा पहुँच वृद्धि गर्दै अन्य समुदायसँगको दूरी घटाएको छ ।
दुई पालिकाका पाँच स्थानमा बिहान ७ बजेदेखि ९ बजेसम्म र साँझ ४ बजेदेखि ६ बजेसम्म ट्युशन सञ्चालन भइरहेको छ । विद्यालय पायक पर्ने स्थान नहुँदा सडक र चौरमा खुला आकाशमुनि पढाउनु पर्ने बाध्यता रहेको छ । होमवर्क गराउने, बुझ्न नसकेका विषय सिकाउने र अतिरिक्त अभ्यास गराउने ट्युशनले दलित बालबालिकाको शिक्षामा ठूलो मदत पुगेको छ ।
हाल पाँच स्थानमा करीब हजारभन्दा बढी बालबालिकाहरूले निशुल्क ट्युशन लिइरहेका छन् । प्रतिकूल मौसम र जाडोका कारण बालबालिकाको सङ्ख्या केही घटेपनि ट्युशन निरन्तर चलिरहेको छ ।
यद्यपि, ट्युशनका लागि पालिकाहरूले कुनै बजेट विनियोजन नगर्दा व्यवस्थापनमा समस्या भइरहेको छ । स्थानीय, प्रदेश र संघीय तहका जनप्रतिनिधिहरूले दलित समुदायको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा ध्यान दिनुपर्ने माग गरिएको छ ।
पर्सा जिल्लाका सबै १४ पालिकामा दलित समुदायको उपस्थिति रहेको छ । जिल्लाको कुल जनसङ्ख्याको ३० प्रतिशत अर्थात् करिब डेढ लाख दलित समुदाय रहेका छन् । तर, उनीहरूको लागि शिक्षा र अन्य आधारभूत सुविधाको अभाव रहेको छ ।




