वीरगंज । पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका २, रङ्गपुर टाँडीस्थित बुलबुले ताल संरक्षणको अभावमा अस्तित्व गुमाउने जोखिममा छ । लगभग चार दशक पुरानो यो तालको स्वरूपमा सामान्य परिवर्तन भएपनि यसको संरक्षणका लागि पर्याप्त ध्यान दिन नसक्दा ओझेलमा परेको छ ।
तालको पूर्वपट्टिको क्षेत्रमा भवरीमाई मन्दिर र थारू सङ्ग्रहालय निर्माण भइरहेको छ भने पश्चिमतर्फ पार्क र दक्षिणतर्फ विवाह मण्डप निर्माण गरिएको छ । यस क्षेत्रमा लाग्ने हाट बजारका लागि नयाँ भवन निर्माण भए पनि सञ्चालन भने सुरु भएको छैन ।
बुलबुले तालले मौसम अनुसार अनौठो विशेषता प्रदर्शन गर्छ । जाडोयाममा तातो र गर्मीयाममा चीसो पानी बग्ने यो तालको पानी जमुनिया खोलामा मिसिन्छ । तर यसको उचित प्रचार र संरक्षणको अभावले सर्वसाधारणको पहुँचमा आउन सकेको छैन ।
ताल वरिपरि आर्टिजन धाराको व्यवस्था गरिएको छ, जहाँ मानिसहरू नुहाउन र पानी प्रयोग गर्न आउँछन् । तर, तालको पानीको प्रयोग कम हुँदै गएको छ । विगतमा गर्मीयाममा चीसो पानी र जाडोयाममा तातो पानीले नुहाउन आउने स्थानीय बासिन्दा अहिले घरघरै पानीको व्यवस्था भएपछि तालमा जान छोडेका छन् ।
गाउँपालिकाले ताल संरक्षणमा चासो नदेखाउँदा चार दशकअघि अस्तित्वमा आएको यो ताल अव्यवस्थित र बेताल अवस्थामा पुगिरहेको छ । संरक्षणको अभाव र उपेक्षाका कारण तालको ऐतिहासिक र पर्यावरणीय महत्व ओझेलमा परेको छ ।




