महोत्तरी । मधेश प्रदेशकै उत्कृष्ट मुल्यांकनमा परेको बर्दिवास अस्पतालले पछिल्लो समय सेवा प्रवाहमा देखाएको कमजोरीले सेवाग्राहीहरूमा गम्भीर असन्तोष उत्पन्न गराएको छ । अस्पतालको व्यवस्थापनमा व्यापक विकृति र बाहिरी सेटिङको प्रभावले स्थानीयहरू अस्पतालको सेवा प्रति निराश देखिएका छन् ।
अस्पतालमा रगतजाँचजस्ता सामान्य सेवा लिन समेत बाहिर जानुपर्ने बाध्यता रहेको स्थानीय विनोद लामाले बताए । ‘अस्पतालको व्यवस्थापन पक्ष कमजोर हुँदा विकृति मौलाएको छ,’ लामाले भने ।
सेवाग्राही रमिला प्रधानले अस्पताललाई बाहिरी औषधि पसल र प्याथोलोजी ल्याबहरूको आर्थिक लाभको हतियार बनाइएको आरोप लगाइन् । ‘भित्र आवश्यक औषधि नपाइने र बाहिर पठाएर महँगोमा किनाउन लगाइन्छ,’ प्रधानले बताइन् ।
अस्पताल परिसरमै बाहिरी व्यवसाय
अस्पताल परिसर नजिकै दर्जनौं औषधि पसल र ल्याबहरू खुलेका छन् । यीमध्ये धेरैजसो अस्पतालकै कर्मचारीहरूको सेटिङमा संचालन भएको पाइएको छ । उदाहरणका लागि, अस्पतालभित्रको फार्मेसी इन्चार्ज सियाराम महतोकै नाममा ‘स्मार्ट फार्मेसी’ सञ्चालनमा रहेको छ ।
औषधि विभागका कर्मचारीहरूले बाहिर औषधि पसल राखेका छन् । ‘भित्र औषधि नपाइने भएकाले बाहिरै सेवाग्राहीलाई सुविधा दिने उद्देश्यले पसल राखेका हौँ,’ ह्यापी फार्मेसीका सञ्चालक सुनिल महतोले भने । तर, बाहिरको औषधि अस्पतालको भन्दा ५० प्रतिशत महँगो हुने सेवाग्राही उर्मिला घिमिरे बताउँछिन् ।
कानुनको उल्लंघन
अस्पताल फार्मेसी सेवा निर्देशिका, २०७२ अनुसार अस्पताल परिसरमा औषधिको व्यापारिक प्रवर्द्धन गर्न नपाइने प्रावधान भएपनि खुलम खुल्ला यसको उल्लंघन भइरहेको छ ।
सेवाग्राहीलाई बाध्यतामा बाहिर पठाउने प्रथा
अस्पताल परिसरभित्र आवश्यक उपकरणको अभाव देखाएर सेवाग्राहीलाई बाहिरका ल्याब र क्लिनिकहरूमा जाँच गराउन पठाउने प्रचलनले अस्पताल व्यवस्थापन माथि प्रश्नचिन्ह खडा गरेको छ । ‘भिडियो एक्सरे लगायत जाँच गर्न भित्रका मेसिनले काम नगर्ने भन्दै बाहिर पठाइन्छ,’ राधे राधे प्याथोलोजी ल्याबका सञ्चालक विजय महतोले भने ।
जनप्रतिनिधि मौन
अस्पतालको यो अवस्था सुधार गर्न स्थानीय जनप्रतिनिधिहरू र व्यवस्थापन समिति मौन रहेको सेवाग्राहीहरूले आरोप लगाएका छन् । यद्यपि, बर्दिवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले तत्काल अनुगमन र छानबिन प्रक्रिया अघि बढाइने प्रतिबद्धता जनाएका छन् ।
सुधारको अपेक्षा
अस्पतालका प्रवक्ता जगत खड्काले व्यवस्थापन सुधारमा काम भइरहेको बताए । ल्याब इन्चार्ज मनोज रायले रसायन अभावले गर्दा सेवा रोकिएको स्वीकार गर्दै छिट्टै समाधान गरिने बताए ।
तर, स्थानीय सेवाग्राहीहरूको गुनासो भने फरक छ । उनीहरूका अनुसार यस्तो बहाना अस्पतालका हरेक विभागमा देखिन्छ । बाहिरी क्लिनिक र ल्याबहरूलाई अस्पताल व्यवस्थापनकै कमजोरीको फाइदा उठाएर आर्थिक लाभ गर्ने माध्यम बनाइएको आरोप लगाएका छन् ।
बर्दिवास अस्पतालले आफ्नो सेवा प्रवाहमा सुधार नगर्दासम्म सेवाग्राहीको असन्तुष्टि हट्न कठिन देखिन्छ । स्थानीय प्रशासनले प्रभावकारी अनुगमन र अस्पतालभित्र मौलाउँदै आएको विकृतिलाई अन्त्य गर्न तुरुन्त कदम चाल्नुपर्ने देखिन्छ ।




