सर्लाही । सर्लाही जिल्लामा मापदण्ड विपरीत सञ्चालन भइरहेका क्रसर उद्योगमाथि प्रशासनले कडाइ गर्दै चार क्रसर उद्योग बन्द गराएको छ । प्रमुख जिल्ला अधिकारीको निर्देशनमा आज हरिपुर र ईश्वरपुर नगरपालिकामा सञ्चालित चार वटा क्रसर उद्योग बन्द गराइएको हो ।
जिल्ला समन्वय समिति सर्लाहीका उपप्रमुख जितेन्द्र कुमार महतो नेतृत्वको टोलीले फूलजोर बाबा बालुवा तथा गिट्टी प्रशोधन उद्योग, शुभम एग्रिगेट इण्डष्ट्रिज, सिद्धिविनायक एग्रिगेट इण्डष्ट्रिज र राजदेवी माई बालुवा गिट्टी ढुंगा वासिङ्ग प्रालिलाई तत्काल बन्द गर्न निर्देशन दिएको छ ।
अनुगमनका क्रममा यी उद्योगहरूले २०७९ मा संशोधन गरिएको ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड पालना नगरेको पाइएको थियो । त्यसैले आजैदेखि बन्द गर्न निर्देशन दिइएको जिल्ला समन्वय समितिले जानकारी दिएको छ ।
स्थलगत निरीक्षणमा उपप्रमुख महतो, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, स्थानीय प्रहरी र सशस्त्र प्रहरी युनिटका इन्चार्ज लगायतको उपस्थिति रहेको थियो । यसअघि, लालबन्दी र बागमती नगरपालिकाका मापदण्ड विपरीत सञ्चालन भएका क्रसर उद्योगलाई पनि बन्द गर्न आदेश जारी गरिएको थियो ।
अनुगमनकै क्रममा बागमतीमा कुनै निकायमा दर्ता नभएका मोबाइल क्रसर र त्यसमा प्रयोग भएका उपकरणहरू बरामद गरिएको थियो । प्रशासनले अनुगमनलाई निरन्तरता दिँदै मापदण्ड विपरीत सञ्चालन भएका उद्योगलाई बन्द गर्दै जाने जनाएको छ ।




