मोरङ । जहदा गाउँपालिका ३ खदरा बस्तीकी २२ वर्षीया दलित महिलामाथि सामूहिक बलात्कार भएको छ । मंगलबार बिहान शौच गर्न गएकी ती महिला दिउँसो नजिकैको बाँसघारीमा अचेत अवस्थामा फेला परेपछि उद्धार गरिएको हो ।
स्थानीयका अनुसार महिला मुखमा कपडा कोचिएको, हातखुट्टा बाँधिएको र च्यातिएको कपडासहित अचेत अवस्थामा फेला परेकी थिइन् । बाँसघारीमा उनलाई पहिलो पटक देख्ने शान्ति ऋषिदेवले गाउँलेलाई खबर गरेपछि महिला उद्धार गरिएको थियो । त्यसपछि उनलाई उपचारका लागि कोशी अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रमा भर्ना गरिएको थियो ।
साँझ होशमा आएपछि पीडितले अपहरण शैलीमा बाँसघारीमा लगेर आफूलाई सामूहिक बलात्कार गरिएको बताएकी छन् । घटना बारे जानकारी पाएपछि प्रहरीले तुरुन्त अनुसन्धान सुरु गरी चार जना अभियुक्तलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कटहरी गाउँपालिका २ का १९ वर्षीय मोहम्मद रमजान, १९ वर्षीय सोनुकुमार साह, भारतको अररिया कुशाकट्टाका १९ वर्षीय मोहम्मद गुल्जार र एक अन्य व्यक्ति रहेका छन् ।
प्रहरीले घटनास्थलमा अनुसन्धान गर्दा पीडित महिलाको शरीरभरि नीलडाम रहेको र कपडा च्यातिएको अवस्थामा फेला पारेको थियो । मुसहर समुदायको बाहुल्य रहेको खदरा बस्तीमा पीडित महिला आफ्ना काखे बच्चासहित बस्दै आएकी थिइन् ।
घटना शौच गर्न घरदेखि करिब १५० मिटर टाढा रहेको जुडी खोलामा भएको हो । मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरियाका अनुसार पीडितको बयानका आधारमा सामूहिक बलात्कार पुष्टि भएको छ । घटना बारे थप अनुसन्धान भइरहेको छ ।
अस्पतालले पीडित महिलाको स्वास्थ्य अवस्थामा सुधार आएको जानकारी दिएको छ । हाल उनलाई सुरक्षा र मनोवैज्ञानिक सहयोगका लागि विराटनगरस्थित एक आश्रयस्थलमा राखिएको छ ।




