रौतहट । रौतहटको गरुडा नगरपालिकामा बिहीबार शिक्षक सरुवाको विषयलाई लिएर स्थानीय विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा नगरपालिकाका विभिन्न सवारीसाधनमा क्षति पुगेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहे पनि यसले नगर क्षेत्रमा तनावको अवस्था सिर्जना गरेको छ ।
गरुडा नगरपालिकाको नमुना माध्यमिक विद्यालयका नेपाली विषयका शिक्षकको सरुवाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले आक्रोशित प्रदर्शन गरेका हुन् । प्रदर्शनलाई नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालयले प्रयास गरिरहेको छ ।
प्रदर्शनका कारण गरुडा नगरपालिकाको कार्यालय परिसरमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको बाक्लो उपस्थिति रहेको छ । इलाका प्रहरी कार्यालय गरुडाका अनुसार प्रदर्शनका क्रममा पालिकाका विभिन्न सम्पत्तिमा ठूलो क्षति भएको अनुमान गरिएको छ ।
क्षतिको विस्तृत विवरण संकलन गर्ने काम नगरपालिकाका कर्मचारी र प्रहरीले गरिरहेको छ । घटनाले नगर क्षेत्रमा अशान्ति उत्पन्न गरेकाले स्थिति नियन्त्रणमा लिन प्रशासन सतर्क बनेको छ । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




