रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका १ स्थित दलित प्राथमिक विद्यालयका विद्यार्थी १७ वर्षदेखि बोरामा बसेर अध्ययन गर्न बाध्य छन् । बकैया नदीको ड्याम क्षेत्रमा स्थापना गरिएको विद्यालयमा फर्निचर र भवन अभावका कारण बालबालिकाले भुइँमै बसेर पढ्नुपरेको छ ।
विद्यालयमा दुई वटा साना छाप्रो मात्र छन्, जसमा अध्ययन गर्ने वातावरण छैन । शैक्षिक सामग्री, डेस्क बेञ्च र शौचालय अभावले बालबालिका र शिक्षकहरूलाई निकै समस्या भइरहेको छ ।
विद्यालयका एक शिक्षकले राहत दरबन्दीमा नियुक्ति भएपनि ७ वर्षदेखि तलब नपाएको गुनासो गरेका छन् । विद्यालय व्यवस्थापनमा ध्यान दिन नसक्दा विद्यार्थीहरू घरबाट बोरा ल्याएर बस्न बाध्य छन् । शौचालय नहुँदा बालबालिकाले आफ्ना घर वा नजिकैको खेतमा जानुपर्ने अवस्था छ ।
स्थानीय सरकारले विद्यालयको समस्या समाधानमा कुनै चासो नदेखाएको जनाइएको छ । विगतमा विद्यालय स्थानान्तरणका लागि जमिन खरिद गरिएपनि त्यसलाई विद्यालयको नाममा दर्ता नगरिएकाले समस्याले निरन्तरता पाएको छ ।
हाल विद्यालयमा १७५ विद्यार्थी अध्ययनरत छन्, जसमा ६० प्रतिशत छात्रा छन् । सामान्य वर्षा वा गर्मीमा विद्यालय बन्द गर्नुपर्ने अवस्था छ । खाजा खुवाउन आवश्यक स्थान र सामग्रीको अभावले विद्यार्थीलाई नियमित खाजा वितरण गर्न सकिएको छैन ।
वडास्तरबाट विद्यालयको समस्या समाधानका लागि जमिन खरिद र भवन निर्माणको प्रतिबद्धता व्यक्त गरिएको छ । तर, तत्कालका लागि विद्यार्थी र शिक्षकहरूले शैक्षिक गतिविधि संचालन गर्न जटिलता झेलिरहेका छन् ।




