झापा । झापाको बुद्धशान्ति गाउँपालिका २ का अध्यक्ष डिल्लीप्रसाद ओली भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले बिहीबार घुस लिएको पुष्टि गर्दै उनलाई सजाय सुनाएको हो ।
विशेष अदालतका अध्यक्ष टेकनारायण शर्मा तथा सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले ओलीलाई चार महिनाको कैद सजाय र घुस रकम बराबर जरिवाना तिर्नुपर्ने फैसला गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसै वर्ष १२ कात्तिकमा ओलीविरुद्ध मुद्दा दायर गरेको थियो । आयोगको इटहरीस्थित कार्यालयबाट गएको टोलीले उनलाई ८० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानले जग्गा पाससम्बन्धी वडा कार्यालयको निर्णय कार्यान्वयनका लागि उनले घुस लिएको पुष्टि गरेको थियो । अदालतले ओलीलाई कैद र जरिवानासँगै अपराध पीडित संरक्षण ऐनअन्तर्गत ३२ सय रुपैयाँ क्षतिपूर्ति शुल्क तिर्ने आदेश पनि दिएको छ ।




