धनुषा । धनुषा लगायत तराईका जिल्लामा सोमबारदेखि शीतलहर चल्न थालेपछि चिसो बढेको छ । चिसोका कारण सर्वसाधारणको जनजीवन प्रभावित भएको छ भने विपन्न समुदाय सबैभन्दा धेरै मारमा परेका छन् ।
शीतलहरका कारण विपन्न परिवारले परालको आगो बालेर चिसो छल्ने प्रयास गरेका छन् । तर, उनीहरूलाई सहयोग गर्न सरोकारवाला निकायको तयारी कमजोर देखिएको छ ।
तथ्यांक अनुसार मधेश प्रदेशमा दलित र विपन्नको जनसंख्या १७।२७ प्रतिशत छ । दैनिक मजदुरीमा निर्भर अधिकांश परिवारसँग न्यानो लत्ता कपडा र पोषिलो खानाको अभाव छ ।
विगतमा शीतलहरका कारण कठ्यांग्रिएर मानिसको ज्यान समेत गएको थियो । तर, राहतका कार्यक्रम ढिलो गरी आउने र समयमा प्रभावकारी सहयोग नपाउने प्रवृत्ति अझै जारी रहेको गुनासो उठेको छ ।
मधेश प्रदेश सरकारले यस वर्ष शीतलहर प्रभावित पाँच हजार विपन्न परिवारलाई न्यानो कम्बल वितरण गर्ने कार्य भइरहेको जनाएको छ । चिसोबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि थप कार्यक्रम तय गर्न प्रदेश विपद् व्यवस्थापन समितिको बैठक बस्ने तयारी छ ।
धनुषाका स्थानीय अधिकारीहरूले विपद् व्यवस्थापनका लागि पूर्वयोजना बनाइएको र सोही अनुसार जनचेतना जगाउने, जोखिम न्यूनीकरणका लागि कार्य भइरहेको जानकारी दिए ।
मिथिला नगरपालिकाले यस वर्ष पनि ज्येष्ठ नागरिक, दलित, विपन्न र सीमान्तकृत समुदायलाई कम्बल तथा सिरक वितरण गर्ने योजना रहेको र विभिन्न स्थानमा आगो बाल्न दाउराको व्यवस्था गर्न पहल गरिरहेको जनाएको छ ।
विपन्न समुदायलाई राहत कार्यक्रम समयमा नै प्रभावकारी रूपमा लागू गर्न र उनीहरूको जीवनरक्षाका लागि तीनै तहका सरकारले समन्वय गर्न आवश्यक रहेको देखिएको छ ।




