वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले घण्टा घरचोकसँगै रहेको बिपी उद्यान अतिक्रमण गरेर तरकारी तथा फलफूल व्यापार गर्दै आएका व्यापारीलाई सात दिनभित्र स्थान खाली गर्न दोस्रो पटक अल्टिमेटम दिएको छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृतले गत शुक्रबार सार्वजनिक सूचना जारी गर्दै बिपी उद्यान हाताभित्र सञ्चालन भइरहेका तरकारी तथा फलफूल बजारलाई हटाउन सात दिनको समय दिएका छन् ।
यसअघि, मंसिर २६ गते १५ दिने सूचना जारी गरिएको थियो, जसको म्याद पुस १० गते समाप्त भएको थियो । तर, व्यापारीहरूले अटेरी गर्दै ठाउँ खाली नगरेपछि पुन: अल्टिमेटम दिनुपरेको हो ।
महानगरले बिपी उद्यानलाई व्यवस्थित गरी सौन्दर्यीकरण गर्न र पर्यटकका लागि आकर्षणको केन्द्र बनाउने योजना अघि सारेको छ । तर, उद्यानमा रहेको अस्तव्यस्त तरकारी र फलफूल बजारले यसमा अवरोध पुर्याउँदै आएको छ ।
बिपी उद्यानबाट तरकारी तथा फलफूल बजार स्थानान्तरण गर्न महानगरले वडा नम्बर १६ स्थित नगवास्थित कृषि बजारको व्यवस्था गरेको जनाएको छ ।
‘यदि तोकिएको समयभित्र व्यापारीहरूले स्थान खाली नगरे, महानगरले बजार खाली गराउन लागेको खर्च पनि सम्बन्धित व्यापारीबाटै असुली गरिनेछ,’ प्रमुख प्रशासकीय अधिकृतले चेतावनी दिएका छन् ।
वडा नम्बर ९ का वडाध्यक्षले व्यापार व्यवसाय गरिरहेका व्यापारीलाई उपयुक्त विकल्प प्रदान गर्दै बिपी उद्यान खाली गराउनु आवश्यक रहेको बताए । साथै, नगवास्थित कृषि बजार टाढा पर्ने सम्भावना भएकाले अन्य उपयुक्त स्थानको खोजी गर्न छलफल आवश्यक रहेको सुझाव दिए ।
महानगरले बिपी उद्यानलाई व्यवस्थित गरेर वीरगञ्ज आउने पर्यटकका लागि आकर्षणको केन्द्र बनाउने र स्थानीय सौन्दर्यीकरणमा टेवा पुर्याउने लक्ष्य राखेको छ । यसका लागि सबै पक्षको सहयोग अपरिहार्य रहेको महानगरले जनाएको छ ।




