रौतहट । कटहरिया नगरपालिकामा निर्णय पुस्तिका दुरुपयोग गरी करोडौंको अनियमितता गर्ने प्रयास भएको आरोपसहित जनप्रतिनिधिहरूले मेयर जयप्रकाश जैसवाल र प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीविरुद्ध कारवाहीको माग गरेका छन् ।
उपमेयर रिता देवी यादवको नेतृत्वमा जनप्रतिनिधिहरूको टोलीले आइतबार जिल्ला प्रशासन कार्यालय, रौतहटमा लिखित उजुरी दर्ता गराएका हुन् । उजुरीमा गत मंसिर २० गते बसेको नगर कार्यपालिका बैठकको निर्णय पुस्तिका दुरुपयोग गरी पुरानै मितिमा दर्जनौं निर्णय अवैध रूपमा लेखिएको र त्यसमा जनप्रतिनिधिहरूको हस्ताक्षर गराइएको उल्लेख छ ।
उपमेयर यादवले मेयर जैसवालको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत जोशीले निर्णय पुस्तिकामा खाली ठाउँ छोडी मनपरी निर्णय थप्दै कार्यपालिका सदस्यहरूसँग घर पुगेर हस्ताक्षर गराएको आरोप लगाएकी छिन् । उनका अनुसार यो प्रकरणले करोडौं रुपैयाँ अनियमितता गर्ने योजना पुष्टि भएको छ ।
अनियमितताका आरोप
जनप्रतिनिधिहरूले मेयर जैसवाल र अधिकृत जोशीले करार कर्मचारीको तलब, ईन्धन खर्च, डिपिआर, आर्थिक सहयोग, औषधी खरिद लगायत विषयमा मनपरी निर्णय गर्दै ठूला आर्थिक फाइदा लिन खोजेको दाबी गरेका छन् । वडा अध्यक्ष चन्दन कुशवाहाले मेयर जैसवाल र अधिकृत जोशीले करार कर्मचारीहरूको तलब भुक्तानी नगरी नयाँ भर्ना खोल्न खोजेको पनि आरोप लगाएका छन् ।
तालाबन्दी र जनप्रतिनिधिहरूको विरोध
अनियमितताका विरुद्ध जनप्रतिनिधिहरूले नगरपालिकामा तालाबन्दी गरेका छन् । उपमेयर यादवसहितका टोलीले २० महिनासम्मको तलब बक्यौता रहेका करार कर्मचारीहरूको तलब भुक्तानीपछि मात्र नयाँ भर्ना गर्नुपर्ने र निर्णय पुस्तिकाको दुरुपयोग रोक्न माग गरेका छन् ।
प्रमुख प्रशासकीय अधिकृतको खण्डन
प्रमुख प्रशासकीय अधिकृत जोशीले भने जनप्रतिनिधिहरूले पाएको निर्णय पुस्तिका खेसरा मात्र भएको दाबी गरेका छन् । तर, जनप्रतिनिधिहरूले उक्त निर्णय पुस्तिकामा मेयर र कार्यपालिका सदस्यहरूको प्रस्ट हस्ताक्षर देखिएको भन्दै जोशीको नियत माथि प्रश्न उठाएका छन् ।
आन्दोलन यथावत
नगरपालिकामा भएको तालाबन्दी हालसम्म जारी रहेको छ । जनप्रतिनिधिहरूले निर्णय पुस्तिकाको दुरुपयोग मार्फत गरिएका निर्णय बदर गरी दोषीमाथि कडा कानुनी कारवाही गर्न माग गरेका छन् ।




