सर्लाही । अत्यधिक चिसो र शीतलहरका कारण सर्लाहीको चन्द्रनगर गाउँपालिका भित्रका सामुदायिक तथा निजी विद्यालयहरू एक हप्ताका लागि बन्द गरिएको छ । गाउँपालिकाले पुस १८ देखि पुस २४ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
शिक्षा अधिकृत कमला कुमारी बस्नेतद्वारा जारी सूचनामा चिसोका कारण विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने नकारात्मक प्रभावलाई ध्यानमा राख्दै सात दिनको विदा दिइएको उल्लेख छ ।
स्थानीय प्रशासनले चिसोको असरबाट बच्न विद्यार्थी र अभिभावकलाई सतर्कता अपनाउन आग्रह गरेको छ । यस अवधिमा विद्यार्थीहरूलाई स्वास्थ्य सुरक्षाका उपाय अपनाउन र चिसोबाट जोगिन विशेष ध्यान दिन अनुरोध गरिएको छ ।
चन्द्रनगर क्षेत्रमा पछिल्ला दिनमा बढ्दो चिसोका कारण जनजीवन प्रभावित भएको छ । विद्यालय बन्दसँगै अन्य क्षेत्रका जनतालाई पनि चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ ।




