बारा । मध्य तराईका जिल्लामा विगत एक सातादेखि अत्यधिक चिसो बढेसँगै जनजीवन कष्टकर बन्दै गएको छ । बाराको सदरमुकाम आसपासका क्षेत्रमा बिहानको तापक्रम अत्यन्त न्यून रहँदा दैनिक दैनिकी प्रभावित भएको छ ।
जल तथा मौसमविज्ञान विभागका अनुसार चिसो हावा र घाम नलाग्ने अवस्थाका कारण तापक्रम १० डिग्री सेल्सियससम्म झरेको छ । कुहिरो र चिसो बतासका कारण सर्वसाधारणले हात खुट्टा कठ्याङ्ग्रिने समस्या झेलिरहेका छन् ।
विशेष गरी श्रमिक वर्ग, जस्तै रिक्सा, ठेला चालक र निर्माण मजदुर चिसोको प्रत्यक्ष मारमा परेका छन् । चोक चोकमा आगो बालेर चिसो छल्ने प्रयास भएपनि गरीब, विपन्न र सीमान्तकृत समुदायका बासिन्दा विशेष प्रभावमा परेका छन् ।
शीतलहर र कुहिरोले चौपाया, पशुपंक्षी र बाली नालीमा समेत नकारात्मक असर पुर्याएको छ । बालबालिका, वृद्धवृद्धा र अशक्त व्यक्तिमा दम, खोकी र कोल्ड डायरियाजस्ता समस्याहरू बढी देखिएका छन् ।
जिल्ला विपद् व्यवस्थापन समितिले चिसोको असर न्यूनीकरण गर्न बैठक बसी प्रभावित क्षेत्र, गाउँ र टोलका गरीब तथा विपन्न परिवारहरूको पहिचान गर्ने कार्यलाई अघि बढाएको छ । आवश्यक राहतका लागि दाउरा, न्यानो कपडा र कम्बल भण्डारण गर्ने निर्देशन १६ वटै स्थानीय तह र सुरक्षा निकायलाई दिइएको छ ।
चिसोका बेला सवारी दुर्घटनाको जोखिम न्यून गर्न ट्राफिक प्रहरीले निगरानी बढाएको छ । कुहिरोको कारण ५० मिटरभन्दा बढी सडक देख्न नसकिने अवस्था सिर्जना भएकाले सवारी साधनलाई न्यून गतिको निर्देशन दिइएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिसँग यस आर्थिक वर्षका लागि २५ लाख रुपैयाँ बजेट रहेको र प्रभावित परिवारलाई राहत वितरण सुरु गरिएको छ । दैवी प्रकोपको जोखिम न्यूनीकरणका लागि थप उपायहरू लागू गर्ने तयारी भइरहेको छ ।




