महोत्तरी । महोत्तरी जिल्लामा तीन दिनदेखि बढिरहेको चिसोका कारण जनजीवन कष्टकर बनेको छ । बुधबार पश्चिमी हावा चल्न थालेपछि चिसो झन् बढेको छ । अन्तर्राष्ट्रिय नव वर्षको कारण बजार र हाटहरूमा केही चहलपहल देखिए पनि बालबालिका र वृद्धवृद्धाहरू विभिन्न ठाउँमा आगो तापेर चिसो छल्दै गरेको दृश्य सामान्य बनेको छ ।
चिसोका बाबजुद प्रादेशिक अस्पताल जलेश्वरको इमरजेन्सी शाखामा बिरामीको चाप भने कम देखिएको छ । चिकित्सकहरूले चिसोमा विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । प्रादेशिक अस्पतालका चिकित्सकले बालबालिका र वृद्धवृद्धालाई न्यानो लुगा लगाउन, झोलिलो खानेकुरा खान र अत्यावश्यक बाहेक बाहिर नजान सुझाव दिएका छन् ।
तर, चिसो र शीतलहरका कारण प्रभावित समुदायलाई सहयोग गर्न स्थानीय पालिका तथा दैविक प्रकोप उद्धार समितिहरू निष्क्रिय देखिएका छन् । जलेश्वर नगरपालिकाका बासिन्दाले पालिकाबाट दाउरा, सिरक वा अन्य राहत सामग्रीको वितरण भएको कुनै पहल नभएको गुनासो गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीले चिसोको प्रभाव न्यूनीकरण गर्न पालिकाहरूलाई निर्देश दिइसकेको जानकारी दिएका छन् । प्रभावित समुदाय पहिचान गरी वन कार्यालयसँग समन्वय गरेर दाउरा, सिरक र कम्बल वितरण गर्न कार्यालय प्रमुखहरूलाई निर्देशन दिएको बताए पनि पालिकाहरूको सक्रियता नदेखिएको स्थानीयले बताएका छन् ।
चिसोको कारणले बजारमा चहलपहल कम भएको र कार्यालयमा सेवाग्राहीको उपस्थिति पनि न्यून भएको छ । पश्चिमी हावाका कारण तापक्रम झन् घट्दै गएको छ, जसले दैनिक जीवन थप कष्टकर बनाएको छ ।




