जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले अत्याधिक चिसोका कारण विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख धीरेन्द्र लाल कर्णले पुस १९ गतेदेखि पुस २९ गतेसम्म जाडो बिदा दिने निर्णय गरिएको जानकारी दिएका छन् ।
उनका अनुसार जाडो बिदा वर्षे बिदाबाट कटौती गरिने छ । यस निर्णयले बालबालिकाको स्वास्थ्यमा चिसोका कारण पर्ने प्रतिकूल असरलाई कम गर्न मद्दत गर्ने विश्वास लिइएको छ । तराई–मधेश क्षेत्रमा केही दिनयता शीतलहर सुरु भएसँगै जनजीवन प्रभावित भएको छ ।
चिसोको असरले बालबालिका तथा वृद्धवृद्धाहरू बढी प्रभावित भइरहेका छन् । यसलाई मध्यनजर गर्दै उपमहानगरपालिका क्षेत्रभित्रका सबै सामुदायिक र निजी विद्यालयहरू बन्द गरिएका हुन् । यस निर्णयले विद्यार्थी, अभिभावक र विद्यालय प्रशासनलाई चिसोबाट राहत दिने अपेक्षा गरिएको छ ।





