वीरगन्ज । पर्साको धोबिनी गाउँपालिका १ स्थित ओरिया खोलामा झोलुङ्गे पुल निर्माणका लागि पाँच वर्षअघि उपभोक्ता समितिलाई दुई पटकमा ४४ लाख रुपैयाँ पेस्की दिइएको थियो । तर, हालसम्म दुई वटा अधुरा पिलर मात्र निर्माण भएका छन् ।
२०७५/७६ मा ९५ लाख ९७ हजार रुपैयाँमा आठ महिनाभित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्यसहित उपभोक्ता समितिसँग सम्झौता भएको थियो । तर, निर्माण कार्य नगरी पेस्की रकमको ठूलो हिस्सा उपभोक्ता समितिले भुक्तानी लिएपछि परियोजना अलपत्र परेको हो ।
ओरिया खोलामा पुल नहुँदा घोडदौडाका बासिन्दाले विशेष गरी वर्षातको समयमा ठूलो कठिनाइको सामना गर्नु परिरहेको छ । खोलामा बाढी आउने समयमा स्थानीयहरूलाई आवतजावतका लागि भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ ।
सम्झौताअनुसार ८ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने पुलको १० प्रतिशत काम पनि सम्पन्न भएको छैन । हालसम्म झन्डै ८ लाख रुपैयाँ बराबरको काम भएको भएपनि उपभोक्ता समितिको खाताबाट सबै रकम झिकिएको छ ।
महालेखा परीक्षकको प्रतिवेदनले सम्झौता अवधि भित्र काम सम्पन्न नगरेको र पेस्की रकम असुल गर्नुपर्ने निर्देशन दिएको छ । प्रतिवेदनमा सम्झौता रकमको एकतिहाई ३२ लाख रुपैयाँसम्म पेस्की दिन मिल्नेमा ४४ लाख दिइएकोले यो कार्य नियम विपरीत भएको उल्लेख छ ।
गाउँपालिकाले उपभोक्ता समितिलाई पटक पटक पत्राचार गरेर काम अगाडि बढाउन वा पेस्की रकम फिर्ता गर्न निर्देशन दिएको छ । तर, समितिले न त काम अघि बढाएको छ, न रकम फिर्ता गरेको छ ।
स्थानीयले सरोकारवाला निकायले अनियमितताको विषयमा चासो नदेखाएको र समस्याको समाधान नगरेको गुनासो गरेका छन् । ओरिया खोलामा पुल निर्माण नहुँदा स्थानीय बासिन्दाले लामो समयदेखि यातायात र आपतकालीन सेवामा कठिनाइ भोगिरहेका छन् ।




