मकवानपुर । मकवानपुर जिल्लामा अवस्थित ऐतिहासिक चुरियामाई सुरुङमार्ग मर्मत सम्भारपछि सर्वसाधारणका लागि अवलोकन गर्न खुला गरिएको छ । मकवानपुर र बारा जिल्लाको सिमानामा पर्ने यो सुरुङ मार्ग करिब १०० वर्ष पुरानो हो, जसलाई बागमती प्रदेश सरकारले पुनर्निर्माण गरी सञ्चालनमा ल्याएको हो ।
सुरुङ मार्ग १९९० सालको भूकम्पमा भत्किएपछि लामो समयसम्म प्रयोगमा आउन सकेको थिएन । बागमती प्रदेश सरकारले २०७८ सालमा पुनर्निर्माण कार्य सुरु गरेपछि सुरुङ मार्गको पुरानो स्वरूपलाई संरक्षित गर्दै आवश्यक सुधार गरिएको छ ।
यो ऐतिहासिक सुरुङ मार्ग ३ मिटर चौडा, २.७५ मिटर अग्लो र ५०० मिटर लामो छ । सुरुङ मार्ग निर्माण नेपालका प्रथम ग्रेजुएट इन्जिनीयर स्व. डिल्लीजंग थापाले १९७४ सालमा डिजाइन गरेका थिए । निर्माणको उद्देश्य काठमाडौंलाई मकवानपुरको हेटौंडा हुँदै तराई क्षेत्रसँग जोड्नु थियो ।
सुरुङ मार्ग राणाकालमा काठमाडौं र रक्सौलको रेलमार्गलाई सहज बनाउन निर्माण गरिएको थियो । तर, चुरे पहाडका कारण हेटौंडा र अमलेखगंजबीचको आवागमनमा कठिनाइ हुँदा सुरुङ मार्गले महत्त्वपूर्ण भूमिका खेलेको थियो ।
चुरियामाई सुरुङमार्ग अहिले पर्यटकको आकर्षण बनेको छ । सर्वसाधारणले यसलाई अवलोकन गर्न रु ५०, विद्यार्थीले रु १० र विदेशी पर्यटकले रु १०० तिर्ने व्यवस्था गरिएको छ । सुरुङ मार्गको प्रशासनले यस क्षेत्रलाई ऐतिहासिक सम्पदाको रूपमा संरक्षण र प्रवर्द्धन गर्न कदम चालेको छ ।




