रौतहट । चिसो र बाक्लो हुस्सुका कारण बारा र पर्साका केही स्थानीय तहले सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द गरेका छन् । पर्साको वीरगञ्ज महानगरपालिका सहित १२ वटा पालिकाले तीन दिनका लागि जाडो बिदा दिने निर्णय गरेका छन् ।
बाराको सुवर्ण गाउँपालिका र करैयामाई गाउँपालिकाले पनि चिसोका कारण विद्यालय बन्द गर्ने सूचना जारी गरेका छन् । करैयामाई गाउँपालिकाले तीन दिन र सुवर्ण गाउँपालिकाले पुस २६ गतेसम्म विद्यालयहरू बन्द रहने जनाएको छ ।
शिक्षक र अभिभावकको गुनासोपछि बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै स्थानीय तहहरूले वर्षे बिदाबाट कटौती हुने गरी जाडो बिदा दिएको बताएका छन् ।
विगत केही दिनदेखि अत्यधिक चिसो र बाक्लो हुस्सुले जनजीवन प्रभावित बनेको छ । बालबालिकाको पठन पाठनमा समस्या भएको भन्दै विद्यालय बन्दको निर्णय गरिएको स्थानीय तहका शिक्षा शाखाले जनाएको छ ।




