रौतहट । रौतहटको कटहरिया नगरपालिकाका मेयरको कारण नगर अन्तर्गत सामुदायिक विद्यालयहरूमा अध्ययनरत हजारौँ विधार्थी अर्धवार्षिक परीक्षाबाट बञ्चित भएका छन् । केही समय अघि विशेष अदालतबाट सफाई पाएर पुनः पद बहाली भएका मेयर अजयप्रकाश जैसवालको लापरवाहीको कारण हजारौँ विद्यार्थीको भविष्य अन्यौल बनेको हो ।
कटहरिया नगरक्षेत्र भित्र ५ वटा मावि, ५ निमावि र १४ प्रावि गरी कुल २४ सामुदायिक विद्यालयमा कक्षा १ देखि १० सम्म १२ हजार भन्दा बढी विधार्थी अध्ययनरत रहेको पूर्व नगर शिक्षा संयोजक अनिल कुमार निधिले बताए । यस आर्थिक वर्षमा नयाँ शैक्षिक शत्र गत वैशाखमा सुरु भएको थियो । शैक्षिक सत्रको हिसाबले गत कार्तिक मसान्त भित्र अर्धवार्षिक परीक्षा सम्पन्न हुनुपर्ने शिक्षकहरुले बताएका छन् ।
नगरक्षेत्र अन्तर्गतका सामुदायिक विद्यालयहरूमा त्रैमासिक परीक्षा बिद्यालय स्वयं आफ्नो स्रोत साधनले गराउने बाँकी अर्धवार्षिक र वार्षिक परीक्षा गराउन नगरपालिकाले ब्यवस्था गर्दै आएको मावि भसेढवाका प्रधानाध्यापक राममंगल यादवले बताए । तर पुस महिनाको अन्तिम सातासम्म पनि नगरपालिकाले स्रोत साधन उपलब्ध नगराएको कारण कटहरियाको कुनै पनि सामुदायिक विद्यालयमा हालसम्म अर्धवार्षिक परीक्षा हुन नसकेको प्रधानाध्यापक यादवले जानकारी दिए ।
यसरी निर्धारित समय भन्दा ३ महिना बढी बित्दा पनि हालसम्म अर्धवार्षिक परीक्षाको सुरसार सम्म नहुँदा हजारौँ विद्यार्थीको भविष्यसँग खेलवाड भइरहेको अभिभावकहरुले गुनासो गरेका छन् । कटहरिया ७ का वडा अध्यक्ष सहिद मियाँ दर्जीले परीक्षा गराउन लाग्ने खर्च विद्यालयहरुलाई समयमा नदिनु मेयर जैसवालको चरम लापरवाही रहेको गुनासो गरेका छन् ।
अर्धवार्षिक परिक्षा सञ्चालन गर्न लाग्ने खर्च उपलब्ध गराउन पटक पटक नगर शिक्षा समितीसँगै नगरपालिकालाई आग्रह गर्दा कसैले वास्ता नगरेको शिक्षकहरूको गुनासो रहेको छ । नगर शिक्षा संयोजक सुरेन्द्र ठाकुरले नगरपालिका र मेयरको बचाउ गर्दै वडा अध्यक्षहरुले वार्षिक र अर्धवार्षिक परीक्षाको लागि रकम नछुट्याएकाले समयमा हुन नसकेको भन्दै ढाँट्न खोजेका छन् ।
ठाकुरले हाल नगरपालिकामा तालाबन्दी भएको कारण कठिनाई भएपनि अर्धवार्षिक परीक्षाको खर्च जुटाउन आफू प्रयासरत रहेको भन्दै पन्छिएका छन् । कटहरियाकी उपमेयर रिता देवी यादवले शिक्षा संयोजक सुरेन्द्र ठाकुरले मेयरलाई बचाउ गर्न झुठो बोलिरहेको बताएकी छिन् ।
आफू निर्वाचित भए देखि नै नगरपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालयहरूमा अर्धवार्षिक र वार्षिक परीक्षा गराउन लाग्ने सम्पूर्ण खर्च नगरपालिकाले दिँदै आएको छ र अहिले वडा अध्यक्षको नाम राखेर हुन्छ उपमेयर यादवले दाबी गरेकी छिन् । उल्लेखनीय छ नगरपालिकामा जनप्रतिनिधिहरुले यही पुस ९ गते तालाबन्दी गरेका थिए जबकी परीक्षा कात्तिक मसान्तमा हुनुपर्ने हो ।




