मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिका र विराटनगरमा सोमबार राति भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।
मिक्लाजुङ गाउँपालिका ३ अधिकारी चोकस्थित सडकमा रमितेबाट धोबेनी बजारतर्फ जाँदै गरेको प्र १-०४-००१ प ३६१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक ३४ वर्षीय प्रदिप राईको मृत्यु भएको हो । गम्भीर घाइते भएका राईको अरनिको अस्पताल उर्लाबारीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, मोरङको विराटनगर महानगरपालिका १४ स्थित सडकमा रानीबाट विराटनगरतर्फ जाँदै गरेको प्र १-०१-००१ ख ४४८३ नम्बरको बसको ठक्करबाट पैदलयात्री ५५ वर्षीया हक्री खातुनको मृत्यु भएको छ ।
गम्भीर घाइते भएकी खातुनलाई कोशी अस्पताल विराटनगर पुर्याइएको थियो, तर उपचारकै क्रममा उनको ज्यान गएको हो । दुर्घटनामा संलग्न बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको अनुसन्धान भइरहेको जानकारी दिएको छ ।




