धरान । साथीमाथि खुकुरी प्रहार गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् । गत शनिबार धरान उपमहानगरपालिका १५ स्थित सदन रोडमा २१ वर्षका रिजन राईमाथि खुकुरी प्रहार भएको थियो ।
पक्राउ पर्नेमा धरान १३ का १८ वर्षीय उत्सव मगर, २१ वर्षीय विश्रान्ती मगर, धरान ८ का २२ वर्षका रोमन गुरुङ, सोही ठाउँका १७ वर्षका प्रस्थान राई र धरान ५ का २१ वर्षीय सुदीप तामाङ रहेका छन् ।
उनीहरुलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिए ।
प्रहरीका अनुसार, शनिबार बिहान चिया खाएर पैसा तिर्ने विषयमा विवाद हुँदा राईमाथि खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका राईलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो, जहाँबाट उनलाई विराटनगरस्थित बिराट नर्सिङ अस्पताल रेफर गरिएको थियो ।
राईको टाउको, बायाँ हात र कुहिना काटिएको छ र अहिले उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । राईमाथि खुकुरी प्रहार गरेको अभियोगमा पक्राउ परेका पाँचै जनालाई प्रहरीले आज सार्वजनिक गरेको हो ।




