रूपन्देही । रूपन्देही जिल्लामा दुई वटा छुट्टा छुट्टै मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पहिलो घटना देवदह नगरपालिकामा र दोस्रो घटना बुटवल उपमहानगरपालिकामा भएको हो ।
पहिलो घटना देवदह नगरपालिका १० चरङगेस्थित सडकमा लु १८ प ३२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा सोही ठाउँका २८ वर्षीय नारायण सुनार गम्भीर घाइते भएका थिए । उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएपनि उनको उपचारकै क्रममा मृत्यु भएको हो ।
दोस्रो घटना बुटवल उपमहानगरपालिका ९ मोन्टनास्थित सडकमा भएको हो । लु ३२ प ९००८ नम्बरको मोटरसाइकलले लु ११ प १०४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बुटवल उपमहानगरपालिका ५ निवासी ४५ वर्षीय सिद्धार्थ कुमार उदय गम्भीर घाइते भएका थिए ।
उनलाई चौराह अस्पताल बुटवलमा उपचारका लागि लगिएको थियो, तर थप उपचारकै क्रममा उनको मृत्यु भएको छ । लु ३२ प ९००८ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले दुबै घटना बारे आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।




