पश्चिम नवलपरासी । पश्चिम नवलपरासी जिल्लाका १६ हजार २९३ जना छात्रा तथा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले आगामी माघ २२ देखि २८ गतेसम्म देशव्यापी खोप अभियानअन्तर्गत १० देखि १४ वर्ष उमेर समूहका छात्रा तथा किशोरीहरूलाई खोप लगाउने तयारी गरेको छ ।
कार्यालय प्रमुख गौरव ढकालका अनुसार जिल्लाका २ सय विद्यालयहरूमा खोप केन्द्र सञ्चालन गरी विद्यालय भित्रका १५ हजार ६६९ जना र विद्यालय बाहिर रहेका ६२४ जना किशोरीलाई खोप लगाइनेछ ।
प्रतापपुर गाउँपालिकाका विद्यालयहरूमा सञ्चालन हुने खोप कार्यक्रमको तयारी सम्बन्धी अभिमुखीकरण कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मन्तोष मुरावले खोप अभियानको विस्तृत जानकारी दिए ।
कार्यक्रममा प्रतापपुर गाउँपालिकाका प्रमुख उमेशचन्द यादवले २२ देखि २८ माघसम्म सञ्चालन हुने खोप अभियानले किशोरीहरूको स्वास्थ्य सुरक्षामा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
प्रमुख नगर र गाउँपालिकाहरूमा खोप कार्यक्रम
पश्चिम नवलपरासीका प्रमुख तीन नगरपालिका र चार गाउँपालिकामा खोप कार्यक्रम सञ्चालन गरिने छ । सुनवल नगरपालिकाका ३७ विद्यालयमा कक्षा ६ देखि १० सम्मका ३३१७ किशोरीलाई खोप लगाइनेछ ।
बर्दघाट नगरपालिकामा ४१ विद्यालय केन्द्रित खोप केन्द्रमा ३०३९ किशोरी, रामग्राम नगरपालिकामा ४० विद्यालयमा २४६३ किशोरी, पाल्हिनन्दन गाउँपालिकाका २७ विद्यालयमा १८३० किशोरी, सरावल गाउँपालिकाका १८ विद्यालयमा १४०३ किशोरी, प्रतापपुर गाउँपालिकाका ३० विद्यालयमा २१९४ किशोरी र सुस्ता गाउँपालिकाका २३ विद्यालयमा १४२३ किशोरीलाई खोप लगाइने योजना छ ।
खोप अभियानमा स्वास्थ्यकर्मी र स्वयंसेवक परिचालन
जिल्ला जनस्वास्थ्य कार्यालयले २०१ जना स्वास्थ्यकर्मी र ३८० स्वयंसेवक खटाएर खोप कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । विद्यालयहरूमा खोप केन्द्र स्थापना गरी स्वास्थ्य स्वयंसेविका र विद्यालय नर्सहरूलाई खोपकर्ताको रूपमा परिचालन गरिनेछ ।
दुई चरणमा देशव्यापी अभियान
यो खोप अभियान देशभर दुई चरणमा सञ्चालन भइरहेको छ । पश्चिम नवलपरासीमा हुने यो कार्यक्रमले पाठेघरको मुखको क्यान्सरविरुद्ध किशोरीहरूको स्वास्थ्य संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।




