नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) पाल्हिनन्दन गाउँपालिका ५ स्थित राजनारायण माध्यमिक विद्यालयका प्रधानाध्यापकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
विद्यालय सहायक (लेखापाल) सुरेश गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र कहारले भवन निर्माण सम्पन्न भएपछि अन्तिम बिल भुक्तानीका लागि सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलबाट गएको टोलीले रु. ६५,००० घुस लिइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको थियो ।
अनुसन्धानबाट पुष्टि भएका तथ्यहरू
अनुसन्धानका क्रममा प्रधानाध्यापक रेशम राज कण्डेल, लेखापाल सुरेश गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र कहार मिलेर रु. ६५,००० घुस लिएको पुष्टि भएको छ ।
यस कारण उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) अनुसार दोषी ठहर गर्दै बिगो बराबर जरिवाना र कैद सजायको मागसहित विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।




