पश्चिम नवलपरासी । अपांगता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउन सुनवल सामुदायिक विकास संस्थाले अपांगता समावेशी विकास (डीआईडी) परियोजनाको माध्यमबाट विभिन्न तालिमहरू सञ्चालन गर्दै आएको छ । यसै परियोजनाबाट लाभान्वित हुनेमध्येका हुन्, पश्चिम नवलपरासीका मुजमिर हुसेन मुसलमान र प्रतापपुर गाउँपालिकाका दिलिप कोइरी ।
छ महिनाको उमेरमै शारीरिक अपांगता भएका मुसलमान हुसेनले सिलाइ कटाइ सिकेर अहिले मासिक २५ देखि ३० हजार रुपैयाँसम्म कमाइ गरिरहेका छन् । परिवारमा आफूमात्रै अपांगता भएका कारण बाल्यकालमा सामाजिक भेदभावको सामना गर्नुपरेको उनी बताउँछन् ।
आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न नसकेपनि सुनवल सामुदायिक विकास संस्थाको अपांगता अधिकार प्रवर्द्धन समितिमा सहभागी भएपछि उनले सीप सिक्ने अवसर पाए । अहिले घरमै सिलाइ कटाइ पसल सञ्चालन गर्दै उनी आर्थिक रूपमा आत्मनिर्भर भएका छन् ।
यस्तै, प्रतापपुर गाउँपालिकाका दिलिप कोइरी पनि बाल्यकालदेखि नै शारीरिक अपांगता भएका व्यक्ति हुन् । घरायसी आर्थिक अवस्था कमजोर भएकाले उच्च शिक्षा हासिल गर्न नसकेको उनले बताए । समाजमा बोझसरह महसुस गर्ने दिलिप अहिले सिलाइ कटाइ सिकेर आफ्नै पसल सञ्चालन गर्दै मासिक ३० देखि ३५ हजार रुपैयाँसम्मको आम्दानी गरिरहेका छन् ।
सुनवल सामुदायिक विकास संस्थाले सञ्चालन गरेको अपांगता अधिकार प्रवर्द्धन समितिमा संयोजकको भूमिका निर्वाह गरिरहेका उनले अपांगता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउन निरन्तर लागिपर्ने प्रतिबद्धता जनाएका छन् ।
परियोजनाको पृष्ठभूमि
अपांगता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउँदै उनीहरूको हक अधिकार प्रवर्द्धन गर्ने उद्देश्यले सुनवल सामुदायिक विकास संस्थाले ‘अपांगता समावेशी विकास’ परियोजना सञ्चालन गरिरहेको छ ।
युनाइटेड मिसन टु नेपाल नवलपरासी क्लस्टरको साझेदारी तथा आर्थिक सहयोगमा २०७९ सालदेखि पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर र पाल्हिनन्दन गाउँपालिकामा सञ्चालन भइरहेको यो परियोजना अपांगता भएका व्यक्तिहरूको आर्थिक, सामाजिक, शैक्षिक तथा राजनीतिक सशक्तीकरणमा केन्द्रित छ ।
परियोजनाको मुख्य उद्देश्य अपांगता भएका व्यक्तिहरूलाई सीपमूलक तालिममार्फत आर्थिक रूपमा सक्षम बनाउने, उनीहरूको हक अधिकार सुनिश्चित गर्ने, अपांग मैत्री विद्यालय सुधार कार्यक्रम लागू गर्दै शिक्षामा पहुँच बढाउने, साथै सामाजिक, आर्थिक तथा राजनीतिक सहभागिता प्रवर्द्धन गर्नु हो ।
यस परियोजना अन्तर्गत अपांगता भएका व्यक्तिहरूलाई विभिन्न सीपमूलक तालिम प्रदान गरिँदै आएको छ, जसका कारण उनीहरू स्वरोजगार बन्न सफल भएका छन् । उदाहरणका लागि, मुजमिर हुसेन मुसलमान र दिलिप कोइरी जस्तै कैयौं व्यक्तिहरू सिलाइ-कटाइ, साना व्यवसाय तथा अन्य सीपमूलक कार्यमार्फत आर्थिक रूपमा आत्मनिर्भर बनेका छन् ।
त्यस्तै, विद्यालय सुधार कार्यक्रमअन्तर्गत अपांग मैत्री संरचना निर्माण तथा शैक्षिक अवसरहरूको विस्तार गरिएको छ, जसले अपांगता भएका बालबालिकाहरूलाई गुणस्तरीय शिक्षाको पहुँच सुनिश्चित गर्न मद्दत पुर्याइरहेको छ ।
यो परियोजनाले अपांगता भएका व्यक्तिहरूको हक अधिकार सुनिश्चित गर्न मात्र नभई, उनीहरूको जीवनस्तर उकास्न ठूलो योगदान पुर्याएको छ । सामाजिक समावेशीकरणलाई प्रवर्द्धन गर्दै, उनीहरूलाई आत्मनिर्भर बनाउने दिशामा महत्वपूर्ण भूमिका खेलेको यो अभियान समावेशी समाज निर्माणका लागि एक सफल पहल सावित भइरहेको छ ।




