रुपन्देही । रुपन्देहीमा एक महिलाको हत्या गरी फालिएको अवस्थामा शव फेला परेको छ । सियारी गाउँपालिका २ भगदरीस्थित बेथरी सडकखण्डको किनारमा अन्दाजी ४५ वर्षीया महिलाको शव बिहीबार बिहान साढे ११ बजे फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी सुरज कार्कीका अनुसार प्रारम्भिक अनुसन्धानमा टाउकोमा ढुंगा प्रहार गरी हत्या गरिएको देखिएको छ ।
“टाउकोमा गम्भीर चोट देखिएको छ, ढुंगाले प्रहार गरेर हत्या भएको हुन सक्छ,” कार्कीले जानकारी दिए । प्रहरीका अनुसार शव परालले छोपिएको अवस्थामा फेला परेको थियो ।
घटना बारे थप अनुसन्धान गर्न रुपन्देही प्रहरीले तालिम प्राप्त कुकुर समेत परिचालन गरेको छ । सियारी गाउँपालिकाका प्रवक्ता दीपकबहादुर शाहीका अनुसार महिलाको अनुहार चिन्नै नसकिने गरी क्षतविक्षत अवस्थामा फेला परेको छ ।
“यदि स्थानीय व्यक्ति भएको भए पहिचान भइसक्ने थियो, तर शव बाहिरै हत्या गरेर रातिको समयमा ल्याएर फालिएको अनुमान गरिएको छ,” उनले बताए । हालसम्म महिलाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ भने घटना बारे सूक्ष्म अनुसन्धान जारी रहेको छ ।




