भैरहवा । रुपन्देहीको मायादेवी गाउँपालिका २ महदेवा (डंगचाहवा) का २९ वर्षीय राकेश सिंह लोध (राजु) को गोली हानी हत्या गरिएको छ । शुक्रबार राति आफ्नै घरमा रहेका बेला लोधमाथि गोली प्रहार भएको हो ।
बिहान अबेरसम्म नउठेपछि स्थानीयले खोजी गर्दा घरको बरन्डामा उनको शव रक्ताम्य अवस्थामा फेला परेको थियो । गोली प्रहारका कारण घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।
गोली प्रहार नै मृत्युको कारण हो वा अन्य कारणले घटना भएको हो भन्ने विषयमा अझै खुल्न सकेको छैन । घटनास्थलमा नेपाल प्रहरीको टोली पुगेर अनुसन्धान गरिरहेको छ । रुपन्देही प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज कार्कीका अनुसार मृतक लोधको आँखा माथि निधार र कन्चटमा चोट देखिएको छ ।
बिहान करिब ८ बजे प्रहरीलाई खबर प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुग्दा उनको शव रक्ताम्य अवस्थामा फेला परेको थियो । शव पोष्टमार्टमका लागि भैरहवा स्थित भीम अस्पताल पठाइएको छ ।
लोध एक्लै बस्दै आएका थिए र खेतीकिसानी गर्थे । स्थानीयका अनुसार परिवारभित्रको घरायसी विवादकै कारण हत्या भएको हुन सक्ने आशंका गरिएको छ । केही समययता मृतक र उनका दाजु दीपक लोधबीच जग्गा सम्बन्धी विवाद चलिरहेको बताइएको छ ।
स्थानीयले मृतकका दाजु दीपक लोधमाथि हत्याको आशंका गरेका छन्, भने उनी हाल फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटना बारे विस्तृत अनुसन्धान गरिरहेको छ ।




