रुपन्देही । रुपन्देही प्रहरीले दाङको लमही नगरपालिका ७ की ३२ वर्षीया संगिता चौधरीको हत्या आरोपमा नौ दिनपछि एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार पक्राउ पर्ने व्यक्ति तिलोत्तमा नगरपालिका १२ का ४२ वर्षीय अमिरिका थारू (अजय) रहेका छन् ।
गत फागुन ८ गते रूपन्देहीको सियारीस्थित बेथरी सडकखण्डको किनारमा चौधरीको शव फेला परेको थियो । टाउको र अनुहारमा ढुंगा प्रहार गरी नचिनिने बनाइ हत्या गरिएको र शव परालको थुप्रोले छोपिएको अवस्थामा फेला परेको थियो ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले तालिम प्राप्त कुकुरको सहायता लिँदै अनुसन्धान गरेको थियो । सोही क्रममा संलग्नताको आधारमा थारूलाई फागुन १६ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा मृतक चौधरी र पक्राउ परेका थारू सँगै मजदुरी गर्ने गरेको खुल्न आएको छ ।
घटना भएको दिन दुवै जनाले मादक पदार्थ सेवन गरेका थिए । सोही क्रममा अमिरिका थारूले संगिता चौधरीलाई यौन प्रस्ताव राखेको र अस्वीकार गरेपछि ढुंगाले प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग भएका दुई थान ढुंगा, मृतकको मोबाइल, कालो टोपी, चप्पल बरामद गरेको छ ।
साथै, पक्राउ परेका थारूको साथबाट घटना भएको समयमा लगाएको कालो जिन्स पाइन्ट र मृतकले प्रयोग गर्ने साइकल पनि बरामद गरिएको छ । थारूलाई जिल्ला अदालत रूपन्देहीबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।




