पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा आगलागीबाट प्रभावित पीडितहरूलाई सशस्त्र प्रहरी बल नेपालका भूतपूर्व कर्मचारी रामराजा मल्लले आर्थिक सहयोग गरेका छन् । मल्लले आगलागी पीडितहरूको सहयोगार्थ नगद २५ हजार रुपैयाँ एकमुष्ट रूपमा पीडित इद्रिश अली अन्सारीलाई हस्तान्तरण गरेका हुन् ।
नगद हस्तान्तरणपछि मल्लले आफूले घटना बारे सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट जानकारी पाएपछि तत्काल घटनास्थल पुगेको बताए । उनले मानवता र सामाजिक दायित्व बोध गर्दै सहयोग गरेको उल्लेख गरे ।
सहयोगस्वरूप रकम प्राप्त गर्दै पीडित अन्सारीले विपत्तिको घडीमा मल्लले गरेको सहयोग अत्यन्त महत्त्वपूर्ण रहेको बताए । साथै, मल्लले आगलागी पीडितहरू चिसो मौसममा त्रिपालमुनी बस्न बाध्य भएकाले उनीहरूलाई खाद्यान्न, लत्ताकपडा तथा अन्य राहत सामग्रीको आवश्यक रहेको भन्दै सम्बन्धित निकायलाई सहयोगका लागि अपिल गरे ।
शुक्रबार सुस्ता गाउँपालिका ३ सेखुहनवामा विद्युत् मिटर बक्स सर्टसर्किट भएर आगलागी हुँदा पाँच जना दाजुभाइको सम्पूर्ण लत्ताकपडा, अन्न, महत्त्वपूर्ण कागजात, नगदसहित सबै सामान जलेर नष्ट भएको थियो । साथै, घटनामा तीन जना गम्भीर घाइते भएका छन्, जसको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।




