रूपन्देही । रूपन्देही जिल्लामा भएका दुई छुट्टाछुट्टै स्कुटर दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । तिलोत्तमा नगरपालिका ३, शंकरनगरस्थित सडकको सर्भिस लेनमा रोकिराखेको लु प्र ००१ ख ०४६९ नम्बरको ट्रकमा लु ४९ प २१७२ नम्बरको स्कुटर ठोक्किँदा कपिलवस्तु नगरपालिका १, तौलिहवाका १९ वर्षीय सिद्धार्थ चौधरीको मृत्यु भएको छ ।
मंगलबार राति भएको दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइए पनि उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका स्कुटरमा सवार अर्का व्यक्तिको सोही अस्पतालमा उपचार भइरहेको छ । यस घटनापछि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै, तिलोत्तमा नगरपालिका ५, मणिग्रामस्थित सडकमा लु ५८ प २८३७ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा सिद्धार्थ नगरपालिकाका २३ वर्षीय राहुल क्षेत्रीको मृत्यु भएको छ । सोमबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका क्षेत्रीलाई मेडिकल कलेज, भैरहवा पुर्याइएको थियो, जहाँ मंगलबार बिहान उपचारको क्रममा उनको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका स्कुटरमा सवार अर्का यात्रुको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि भारत पठाइएको प्रहरीले जनाएको छ । दुवै घटना बारे अनुसन्धान भइरहेको छ ।




