दाङ । दाङ जिल्लाको घोराही उपमहानगरपालिका १४ मा विद्यालय व्यवस्थापन समितिको गठन बैठक क्रममा प्रधानाध्यापकमाथि कुटपिट भएको घटना सार्वजनिक भएको छ । वडाध्यक्ष भानसिं बुढाले शुभ प्रभात माध्यमिक विद्यालयका प्रधानाध्यापक रुद्र बुढामाथि कुटपिट गरेको आरोप लागेको छ ।
बुधबार आयोजित बैठकमा न्यून संख्यामा अभिभावक उपस्थित भएपछि प्रधानाध्यापक रुद्र बुढाले अर्को बैठक बोलाउनु पर्ने सुझाव दिएका थिए । तर, वडाध्यक्ष बुढाले आफ्ना समर्थकलाई समितिमा नियुक्त गर्न दबाब दिएका कारण विवाद चर्किएको बताइएको छ ।
प्रत्यक्षदर्शीका अनुसार विवाद बढ्दै जाँदा वडाध्यक्ष बुढा र उनका १०(१२ जना समर्थकले प्रधानाध्यापकलाई कुटपिट गरेका थिए । घटनाका सम्बन्धमा वडाध्यक्ष बुढाले भने आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । उनका अनुसार प्रधानाध्यापकले व्यवस्थापन समितिको निर्णय माइन्युट गर्न नमानेपछि अभिभावकहरू नै आक्रोशित भएका थिए ।
विद्यालय व्यवस्थापन समितिमा आफ्ना समर्थकलाई नियुक्त गर्न गरिएको हस्तक्षेप र कुटपिटको घटना प्रति विभिन्न संघ संगठनले विरोध जनाएका छन् । उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि आवश्यक कानूनी कारबाही गर्न माग गरेका छन् ।
विद्यालय प्रशासनमा भइरहेको राजनीतिक हस्तक्षेपका कारण शिक्षाको गुणस्तर खस्कने चिन्ता व्यक्त गर्दै स्थानीय निकायलाई निष्पक्ष र पारदर्शी प्रक्रिया सुनिश्चित गर्न आग्रह गरिएको छ ।




