बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्य मदिरा सेवन गरेर कार्यालयमा झगडा गरेको आरोपमा प्रहरी नियन्त्रणमा परेका छन् ।
नगर उपमेयर रत्नकुमारी पाण्डेका अनुसार मंगलबार आर्थिक विकास समितिका संयोजक कृष्ण गौतम र सहायक प्राविधिक (पाँचौं तह) नगेन्द्र भण्डारीसमेत मदिरा सेवन गरेर कार्यालय आएका थिए ।
यद्यपि, गौतम र भण्डारीले कुनै दुर्व्यवहार नगरेको भए पनि प्रमुख प्रशासकीय अधिकृत आचार्यले मेयर ध्रुवकुमार थारू र उपमेयर पाण्डेसँग आक्रामक व्यवहार देखाएको उनले बताइन् ।
“आचार्य मदिराको नशामा मेरो कार्यकक्षमा आएर टेबल ठोक्दै धम्की दिन थाले । मेयर र मलाई ‘सडकछाप’ बनाइदिने र घर जलाइदिने जस्ता गम्भीर अभिव्यक्तिहरू दिएपछि मेयरलाई खबर गरी प्रहरीमा उजुरी दियौं,” उपमेयर पाण्डेले भनिन् ।
घटनाको खबर पाएपछि जयनगर प्रहरी कार्यालयले तीनै जनालाई नियन्त्रणमा लिई नगर अस्पतालमा मापसे परीक्षण गराएको थियो । परीक्षणमा आचार्यले मदिरा सेवन गरेको पुष्टि भए पनि गौतम र भण्डारी नशामुक्त रहेको पाइएको छ ।
बारबर्दिया नगरपालिकाले आचार्यमाथि विभागीय कारबाहीका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने जनाएको छ । यसैबीच, आरोपित आचार्यले आफ्नो फेसबुक पोस्टमार्फत मेयर थारूमाथि ‘पावर टिलर खरिदमा घुसखोरी’को आरोप लगाएका छन् ।
तर, मेयर थारूले आरोपलाई ‘निराधार र आवेगमय’ भन्दै खण्डन गरेका छन् । उनका अनुसार, किसानहरूको ५० प्रतिशत लागत सहभागितामा पावर टिलर खरिद गर्न इ-बिडिङ प्रक्रियाबाट टेण्डर गरिएको थियो, जुन आचार्यलाई मन नपरेको हो । सुर्खेतका आचार्य आगामी वैशाख १४ गते अनिवार्य अवकाशमा जाँदैछन् ।




