परासी । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पश्चिम नवलपरासीले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा विभिन्न कार्यक्रमसहित स्वर्णजयन्ती महोत्सव मनाउने भएको छ ।
वि.सं. २०३१ साल जेठ १० गते स्थापना भएको रेडक्रस जिल्ला शाखाले पचासौँ वर्षगाँठको अवसरमा यही चैत २५ गते भव्य रूपमा स्वर्णजयन्ती समारोह आयोजना गर्ने भएको छ । परासी प्रेस क्लबले गरेको साक्षात्कार कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पश्चिम नवलपरासीका जिल्ला सभापति राजेन्द्रप्रसाद अग्रहरीले सो जानकारी गराएका हुन् ।
रेडक्रसले विपद् व्यवस्थापन, रक्त सञ्चार, एम्बुलेन्स सेवा, समुदाय विकास तथा स्वास्थ्य सचेतना लगायतका विविध मानवीय सेवाहरू प्रदान गर्दै आएको छ । स्वर्णजयन्ती समारोहमा संस्थाले हालसम्म गरेका क्रियाकलाप, इतिहास तथा रेडक्रस अभियान समेटिएको स्मारिका विमोचन, सम्मान तथा स्मारक अनावरण जस्ता कार्यक्रम समावेश गरिने सभापति अग्रहरीले जानकारी दिए ।
समारोहमा व्रिटिश, स्वीस, क्यानेडियन तथा सार्क राष्ट्रका रेडक्रस प्रतिनिधिहरूलाई आमन्त्रण गरिएको छ भने संघीय तथा प्रदेशसभा सांसदहरू, स्थानीय तहका प्रमुखहरू, राजनीतिक दलका प्रतिनिधिहरू, नागरिक समाज, रेडक्रसका संस्थापक, आजीवन तथा विशिष्ट सदस्यहरूको उपस्थिति रहनेछ ।
महोत्सवकै अवसरमा गैँडाकोट नगरपालिकाको सहयोगमा निर्माण गरिएको स्वर्णजयन्ती स्तम्भ, क्यानेडियन रेडक्रसको सहयोगमा निर्मित गोदामघरको माथिल्लो तला, सरावल गाउँपालिकाको सहयोगमा शाखा परिसरमा बनेका ब्लक तथा पाल्हीनन्दन गाउँपालिकाको सहयोगमा निर्मित पर्खालको उद्घाटन गरिनेछ ।
त्यस्तै, सभापति अग्रहरीको सहयोगमा स्थापना गरिएको अक्षयकोषबाट छात्रवृत्ति प्रदान गर्ने, विभिन्न व्यक्तित्वहरूलाई सम्मान गर्ने तथा स्मारिका विमोचन गर्ने कार्यक्रम पनि महोत्सव अन्तर्गत समावेश गरिएको छ ।
परासी प्रेस क्लबका अध्यक्ष मोहन पौडेलको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा रेडक्रस लुम्बिनी प्रदेशका कोषाध्यक्ष हैदर अलि मोमिन, जिल्ला शाखाका उपसभापति कृष्णप्रसाद लामिछाने, उपमन्त्री तथा रक्त सञ्चार सेवा केन्द्र संयोजक सुरज केसी, जिल्ला सदस्य एवं विपद् व्यवस्थापन संयोजक अर्जुन क्षेत्री लगायतका व्यक्तिहरूले पत्रकारहरूको जिज्ञासाको सम्बोधन गरेका थिए ।




