कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि बिहीबार राति गोली प्रहार भएको छ । मायादेवी गाउँपालिका १ पकडीस्थित चौधरीको निजी निवासमै लक्षित गर्दै गोली चलाइएको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता तथा डिएसपी मोहनमणि अधिकारीले अध्यक्ष चौधरीमाथि गोली प्रहार भएको पुष्टि गरेका छन् । डिएसपी अधिकारीका अनुसार राति करिब ११:३० बजेको समयमा भएको उक्त घटनामा चौधरीलाई लक्षित गरिए पनि गोली घरको भित्तामा लागेर टर्यो ।
प्रहरीका अनुसार घटना हुँदा विद्युत आपूर्ति बन्द थियो र अध्यक्ष चौधरी शौचालय गएर फर्कंदै गर्दा अचानक गोली प्रहार भएको थियो । प्रहरी टोलीले घटनास्थलबाट गोलीको एक खोका बरामद गरेको छ ।
यस घटनाको बारेमा गम्भीरतापूर्वक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । अहिले घटनास्थलमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ भने सुरक्षा सतर्कता पनि उच्च बनाइएको छ । गोली कसले र किन प्रहार गर्यो भन्ने विषयमा भने अहिलेसम्म कुनै स्पष्ट जानकारी आइसकेको छैन ।




