तुलसीपुर । दाङको तुलसीपुरमा एक शिक्षकमाथि आफ्नै विद्यालयका विद्यार्थीले धारिलो हतियार खुडाले प्रहार गरेका छन् । घटनामा हिमाल एकाडेमीका समन्वयक (कोर्डिनेटर) शिक्षक विशेष श्रेष्ठ घाइते भएका छन् ।
प्रहरीका अनुसार तुलसीपुर ६ स्थित हिमाल एकाडेमीमा अध्ययनरत तुलसीपुर ४ रक्षाचौरका अन्दाजी १८/१९ वर्षीय सुरेश सुनारले शुक्रबार बिहान साढे १० बजेतिर विद्यालय परिसरमै प्रवेश गरी शिक्षक श्रेष्ठमाथि एक्कासी खुडा प्रहार गरेका हुन् ।
प्रहारबाट श्रेष्ठको बायाँ काँध तथा दुबै हातका पाखुरामा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । घाइते श्रेष्ठलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि राप्ती प्रादेशिक अस्पतालबाट अन्यत्र रिफर गरिएको छ ।
हिमाल एकाडेमीका प्रिन्सिपल मधुसुदन केसीले घटनाबेला आफू विद्यालय बाहिर रहेको र विस्तृत विवरण बुझ्न बाँकी रहेको जानकारी दिए । “विद्यार्थीबाट यस्तो घटना भएको सुनेको छु, म विद्यालय पुगेर पूर्ण विवरण लिन्छु,” प्रिन्सिपल केसीले भने ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरीक्षक सुर्य रानाका अनुसार घटनापछि सुरेश सुनार फरार भएका छन् । “घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली पुगेको थियो, हाल आरोपीको खोजी भइरहेको छ,” रानाले जानकारी दिए ।
घटनाको कारण बारे विस्तृत विवरण आउन बाँकी रहेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विद्यालय परिसरमा भएको यस्तो हिंसात्मक घटनाले अभिभावक र स्थानियवासी चिन्तित भएका छन् ।




