“उठ्न कति अल्छी गरेकी! सात बजिसक्यो ?” दिपिकाले कवितालाई कराउँदै भनिन् ।
कविताले ओछ्यानमै आँखा मिच्दै उत्तर दिइन्, “आज साउने सङ्क्रान्तिको बिदा हो नि! एकछिन सुत्न दे न यार!”
कविता र दिपिका एउटै कलेजमा स्नातक पढ्दै थिए । उनीहरूबीच गहिरो मित्रता थियो । कलेज जान आउन पनि सँगै गर्थे । घर नजिकै भएकाले कहिल्यै छुट्टिनु पर्दैनथ्यो ।
दिपिकाको परिवार आर्थिक रूपमा सामान्य थियो । बेफिजुल खर्च गर्ने उसलाई त्यति छुट थिएन । तर कविता सम्पन्न परिवारमा हुर्केकी थिई । कुनै चीजको अभाव थिएन । यद्यपि मित्रता गहिरो थियो, रमाइलो गर्ने प्रसङ्गमा बेला–बेलामा खटपट पर्थ्यो ।
बुढाघरे साहुकी नातिनी भएकाले कविता सबैको आँखाको नानी थिई, जबकि दिपिकालाई कोही वास्ता पनि गर्दैनथे ।
“स्तर नमिलेर होला,” भनी दिपिका चुपचाप सहन्थिन्, चित्त बुझाइहाल्थिन् ।
११ बजेतिर कविता उठी । साउन लागेकोले उसले दिपिकालाई भनिन्, “हामी सँगै बजार जाऔँ न । हरियो कुर्ता–सुरुवाल अनि हरिया चुरा किन्नु छ । चाँडो तयार हो!”
एकछिन चुप लागेर टोलाएकी दिपिकाले भनी, “मलाई हरियो लुगा र चुरा लगाउने खासै रहर छैन । बरु अब त हरियो पासपोर्टको आवश्यकता छ ।”






