रूपन्देही । बुटवल उपमहानगरपालिका १० रामनगरस्थित सडकमा मंगलबार बिहान भएको एक सवारी दुर्घटनामा मोटरसाइकलमा सवार ५८ वर्षीया जमुना पुनको मृत्यु भएको छ ।
बुटवलबाट बर्दघाटतर्फ आउँदै गरेको लु २ ख ७०४९ नम्बरको बसले लु ४४ प ९२९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी जमुना पुनलाई तत्काल लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएको थियो, जहाँ उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक पनि घाइते भएका छन् र उनको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरेको छ ।
घटना बारे थप अनुसन्धान जारी रहेको र प्रहरीको टोलीले दुर्घटनाको कारण र अन्य पक्षको सत्यता सम्बन्धी जानकारी संकलन गरिरहेको स्रोतले जनाएको छ ।




