उत्साहित हुँदै दिदीले बहिनीलाई भनिन्, “ए केटी, सुन् त! आज धनेकहाँ रोपाइँ छ, जानुपर्छ है। त्यहाँ गएर राम्रो टिकटक बनाउँ, भाइरल हुनुपर्यो नि हामी पनि!”
बहिनीले मुख बनाउँदै उत्तर दिइन्, “ह्या! यो दिदीलाई त जहिल्यै भिडियो बनाउने रहर मात्रै। दुनियाँलाई देखाएर के नाप्छ र? के के न गरेजस्तो गर्छे! म त आज जान्न।”
दिदीले हप्काउँदै भनिन्, “यो बहिनी पनि त बुढी आइमाईजस्तै कुरा गर्छे! जमानाअनुसार चल्न जान्नुपर्छ, हैन भने मान्छेले हेप्छन् नि! कति सम्झाउनु? म त हैरान परेँ।”
झर्किँदै बहिनीले भनिन्, “आफू जे जस्तो छ, म त त्यसैमा रमाउँछु। अरूलाई देखाउन मलाई आउँदैन।”
दिक्क मान्दै दिदीले सम्झाइन्, “न कहिल्यै गतिलो लाउन जान्या छ, न मिठो खान नै! सम्पत्ति त सबै छ। राम्रो लाऊ, मिठो खा, पार्लर जाऊ, स्कुटी किन, आइफोन किन! के पाखेजस्ती भएर घरमा मात्र कोच्चिएर बस्ने?”
बहिनीले हल्का हाँस्दै भनिन्, “रहर पनि हुनुपर्यो, जान्न पनि आउनुपर्यो! मलाई त लाज लाग्छ।”
दिदीले दिक्क भएर भनिन्, “यिनलाई सम्झाउनु र हाम्रा देशका नेताहरूलाई बुझाउनु उस्तै हो!”






