रातभरि ऊ सोचिरह्यो, ‘‘के दिऊँ होला ?’’ उहाँलाई रातभरि निन्द्रै परेन । बिहान उज्यालो हुँदासम्म पनि ऊ निष्कर्षमा पुग्न सकेन ।
छटपटिँदै फेरि सोच्यो, ‘‘टिसर्ट दिऊँ भने उसैसँग थुप्रै छन् । फ्रेम दिऊँ भने अरूले पनि उही दिन सक्छन् । जुत्ता पनि धेरै छन् उसँग ।’’
एक कप चिया पियो । मोबाइल हातमा खेलाउँदै आफ्नै मनसँग सोध्यो, ‘‘के चाहिएको छ उसलाई ? सोधूँ कि क्या हो ?’’
‘‘ह्या! लाजैमर्नु हुन्छ होला । सोध्यो भने त फेरि केही चाहिँदैन भन्छ नि,’’ अर्को मनले जवाफ दियो ।
‘‘मिल्ने साथी हो । हरेक कुरामा सघाउँछ । हामीभन्दा हुने खाने पनि छ । तैपनि, भिन्न के दिन सकूँ जसको महत्व बेग्लै होस् ?’’
ऊ लगातार सोचमै डुबिरह्यो । तर समयले उसलाई पर्खिएन । तोकिएको समयमा ऊ साथीको घर पुग्यो । मनमनै खुसी थियो । सबै जना भइसकेका थिए । केक काटियो, खाइयो, हाँसीखुशी बाँडियो । सबैले केही न केही उपहार दिए ।
आफ्नो पालो आउँदा उसले उपहार दिँदै भन्यो, ‘‘समय बलवान् छ । समयले पर्खँदैन, बगेको खोला फर्कँदैन भन्छन् । सधैं समयको महत्व बुझाउने तिमीलाई, जन्मदिनको शुभकामनासहित मेरो उपहार- घडी ।’’






