उनी ठूलो स्वरले कराए, “खोला निकै बढेर आयो कि कसो ? जा, जा ठूले, हेरेर आऊ ।” ठूलेले सहमति जनाउँदै भन्यो, “पाइयो भने मुढा नि छोप्नुपर्ला ।”
कालो निलो भएर बादल बौलाएको थियो । हावा र हुरीसँगै मुसलधारे वर्षा परिरहेको थियो । नजिकैको खोलो सुस्साएको प्रस्टै सुनिन्थ्यो । बाउ–छोराको कुरा सुनेर उनी कराइन्, “अहिले जानु पर्दैन । भर्खर पानी पर्न रोकिएको छ । खोलो निकै बढेको होला, जे पनि हुन सक्छ ।”
तर उनका कुरा उनीहरूले सुनेनन् । दुबैले खोलातिर बाटो तताए । पहिरोसहित बग्दै आएको खोलो निकै धमिलो देखिन्थ्यो । “तिमी यतै किनारतिर हेर्दै गर । म अलिकति मास्तिर जान्छु । ठूला काम लाग्ने मुढा भए राख्नुपर्छ,” भन्दै बाउ मास्तिर उक्लिए ।
ठूला-ठूला सात-आठ मुढा किनार लगाउन उनी सफल भए । आफ्नो काम प्रति आफैँ दङ्ग हुँदै हिसाब गर्न थाले, “जे होस्, फर्निचरमा बेचे पनि अलिकति पैसा हात पर्ने भयो ।”
उनले ठेला खोजे । एक-एक गरेर छोपेका सबै मुढा सिधै फर्निचरवालालाई लगे । मोलमोलाइ गरेर पैसा लिए र खुशी हुँदै फर्किंदै थिए । सोच्दै थिए, “आज त मीठो खानुपर्छ ।”
उनले जहानलाई फोन गरेर भने, “मासु लिएर आउँछु, खाना बनाउँदै गर ।” तर उनी घर आइपुग्दा ठूले साथमा थिएन । उनले सोधिन्, “ठूले खोई त ?”
अकमक्क पर्दै उनले भने, “त्यहाँ खोलामा थिएन त ! मैले यता-उता हेरेर बोलाएँ । घरमा आएन र ?” उनी आत्तिँदै भन्थिन्, “छैन नि! कहाँ गयो त ? सँगै गएको हेर्नुपर्दैन ? मैले नजानू भनेकी थिएँ नि !”
यता-उता धेरै खोजे, भेटिएन । गाउँमा हल्ला मच्चियो । सबै जना खोलातिरै लागे । खोज्दै जाँदा उनी एक्कासी रुन थालिन् । टाउकोमा हात राखेर भनिन्, “कठै बरा ! ठूलेलाई त भुँवरीले बालुवामा पुरेछ !”






