बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको कोहलपुरस्थित मालपोत कार्यालयका खरिदार हरिचन्द्र पाण्डेलाई २० हजार रुपैयाँ घुससहित आज रंगेहात पक्राउ गरेको छ । अख्तियारका अनुसार, मालपोतको मुद्दाफाँटमा कार्यरत पाण्डेले जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएको पुष्टि भएपछि उनलाई पक्राउ गरिएको हो ।
पाण्डेले उक्त रकम लेखापढी व्यवसायी शान्ति पुनमार्फत माग गरेको सूचनाको आधारमा अख्तियारको टोली नेपालगञ्जबाट कोहलपुरस्थित मालपोत कार्यालय पुगेको थियो । आयोगले कोहलपुर नगरपालिका ११ स्थित तिवारी रेस्टुरेन्टबाट खरिदार पाण्डे, लेखापढी व्यवसायी पुन र रेस्टुरेन्ट सञ्चालक घनश्याम तिवारीलाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरी र अख्तियारको अनुसन्धान अनुसार, पाण्डेले सेवाग्राहीबाट लिएर आएको २० हजार रुपैयाँ रेस्टुरेन्ट सञ्चालक तिवारीलाई हस्तान्तरण गरेको अवस्थामा सबैलाई पक्राउ गरिएको हो । अख्तियारले तीनै जनामाथि थप अनुसन्धान जारी रहेको बताएको छ ।




