रूपन्देही । रूपन्देहीको बुटवलमा एक व्यक्तिले आफ्नी पूर्वपत्नी र दुई छोरीको विभत्स हत्या गरेका छन् । बुटवल उपमहानगरपालिका १३ स्थित होराइजन चोक नजिकैको मिलिजुली पथमा बुधबार बिहान ४ बजेतिर भएको उक्त घटनामा ३४ वर्षीया दीपा बस्याल र उनका दुई छोरीहरू ७ वर्षीया आयुशा कोइराला र ४ वर्षीया आयना कोइरालाको ज्यान गएको हो ।
घटनामा संलग्न मृतक दीपाका पूर्वपति सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धान अनुसार, सम्बन्ध विच्छेदपछि अर्कैसँग विवाह गरेर बसिरहेकी दीपालाई सुजनले आफ्नै घरमा बोलाएर हत्या गरेका हुन् । रूपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीका अनुसार, अभियुक्तले घरेलु हतियार हेम्बर र चक्कु प्रयोग गरी तीनै जनालाई क्रूरतापूर्वक हत्या गरेका थिए ।
प्रहरीले दिएको जानकारी अनुसार, सुजन कोइराला यसअघि पनि आपराधिक घटनामा संलग्न भइसकेका थिए । उनले आफ्नै दाजुलाई हत्या गरी जेल सजाय भोगिरहेका थिए । संविधान दिवसको अवसरमा आममाफी पाएर केही वर्षअघि मात्र उनी जेलमुक्त भएका थिए ।
त्रिपल हत्याको यो घटना अत्यन्तै दर्दनाक र जघन्य मानिएको छ । प्रहरीले घटनास्थलको अनुसन्धान जारी राखेको छ भने हत्यामा प्रयोग भएका हतियार पनि बरामद गरिएको बताइएको छ । मृतकहरूको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ । घटनाले बुटवल क्षेत्रलाई स्तब्ध बनाएको छ ।




