नेपालमा मनसुन मौसम सामान्यतया जुन महिनाको मध्यतिर सुरू हुन्छ र सेप्टेम्बरसम्म जारी रहन्छ । सबैभन्दा धेरै वर्षा सामान्यतया जुलाई र अगस्टमा हुन्छ । तर यस वर्ष २०८२ मा प्रि-मनसुनकै अवधिमा काभ्रेपलाञ्चोक जिल्लाको रोशी खोलामा आएको बाढी र हुम्ला जिल्लामा १ जेठ २०८२ को राति भएको हिम पहिरोबाट सिर्जित बाढीले अग्रिम विपद् जोखिमको अलार्म गराएको आभाष मिल्छ ।
नेपालमा मनसुन सामान्यतया जुन महिनाको १३ तिर सुरू हुन्छ र सेप्टेम्बर २३ सम्म रहन्छ । यस अवधिको वर्षाले देशको कुल वार्षिक औसत वर्षाको ८० प्रतिशत भाग समेट्दछ । यद्यपि, नेपालमा मनसुनको अवधि जुन महिना १३ देखि सेप्टेम्बर २३ सम्म भनिए तापनि यसको सुरू मिति र समाप्तीको मिति प्रत्यक वर्ष फरक-फरक हुने गरेको छ। नेपालको औसत वार्षिक वर्षा १६०० मिलिमिटर हुने गरेकोमा कहिलेकाहीँ १८०० मिमिलिटरसम्म पनि हुने गरेको रेकर्डहरू छन् ।
भारतीय मौसम विज्ञान विभागले मे १३, २०२५ मा दक्षिण बंगालको खाडी, दक्षिणी अण्डमान सागर, निकोबार टापुहरू र उत्तरी अण्डमान सागरका केही क्षेत्रहरूमा सामान्य तालिकाभन्दा एक हप्ता अगाडि मनसुन सुरू हुने घोषणा गरेको छ । मे १९, २०२५ मा प्रकाशित काठमाडौं पोष्टका अनुसार यस वर्ष नेपालमा मनसुन सामान्य मितिभन्दा एक हप्ताअगाडि नै प्रवेश गर्न सक्छ छ । साथै नेपालमा यस वर्ष औसत वार्षिक वर्षाभन्दा ५ देखि १० प्रतिशत बढी हुने पनि प्रक्षेपण गरेको छ ।
नेपालको धरातलीय स्वरुप
नेपाल तीन किसिमको धरातलीय स्वरुपमा विभाजित छ । उत्तरमा हिमालय क्षेत्र, बीचमा पहाडी भाग र दक्षिणमा समतल मैदान रहेको छ । भूकम्प प्रभावित क्षेत्रमा अवस्थित यो इलाकाको उच्च हिमाली क्षेत्रमा बारम्बारको भुकम्पका धक्काहरूको कारण हिमालय क्षेत्र खुकुलो हुँदै जाँदा कमजोर धरातलीय अवस्थामा रहेका छन् । अर्कोतिर बढ्दो वायुमन्डलीय तापक्रमको कारण हिउँ पग्लने क्रम पनि तीब्र छ ।
यसैकारण हिमालय क्षेत्रमा हिम पहिरोका संख्यामा वृद्धि हुनाको साथै पानीको बहावको मात्रामा पनि वृद्धि भएको छ । हिमाली भागभन्दा तलतिर रहेको पहाडी भागमा बढ्दै गएको भूमि उपयोगको चापले भूमि खुकुलो भई मनसुनको समयमा लेदोसहितको पानी हिमाली भेगबाट आएका नदीमा मिसिन गई वहाब बढ्न जान्छ । अतिरिक्त पानी र त्यसमा मिसिएका लेदो पदार्थले तराई क्षेत्रमा बाढीको सम्भाबवलाई बढाउँदै लगेको छ ।
नेपालमा बाढीबाट भएको क्षतिको विवरण
हिमाली र पहाडी भागबाट आएका नदीहरू तराईमा पुगेपछि नदीको बहाव गतिमा सुस्तता सुरू हुँदै गर्दा नदीले बगाएर ल्याएका पदार्थहरू नदीको पिँध र किनारामा थुप्रिदै जान्छन् र नदीको सिमानाभित्र रहेर पानी प्रवाह हुन सक्ने क्षमतामा कमी हुँदै गएको छ । अर्थात् नदीको आफ्नो मार्ग साँघुरिँदै गएको छ ।
यसरी वर्षायाममा खोलाको पानी आफ्नो नियमित मार्गमा अटाउन नसकी नदी मार्गको किनारातिर पोखिन जान्छ र नदीको तल्लो तटीय क्षेत्रमा बाढीको सम्भावनालाई बढाउँछ । यसरी दक्षिण एसियामा बाढीको जोखिममा बंगलादेशपछि नेपाल दोस्रो उच्च स्थान र विश्वमा बाढी विपद् जोखिममा ११ औं स्थानमा पर्दछ ।
२०१९ को एसियाली विकास बैंकको प्रतिवेदन अनुसार बाढी प्रकोपबाट नेपालमा वार्षिक रूपमा औसतमा १४ करोड अमेरिकी डलरभन्दा बढी हुने अनुमान गरिएको छ । सोही प्रतिवेदनमा यी क्षति नेपालको कुल गार्हस्थ उत्पादनको १.४ प्रतिशत बराबर हुन्छ भनी लेखिएको छ ।
यस लेख तयार पार्ने क्रममा तथ्याङ्कको लागि संयुक्त राष्ट्र संघको प्रकोप सम्बन्धित तथ्याङ्क र भण्डारण गर्ने निकाय ‘डेसिनभेन्टर’ र नेपाल सरकारको विपद् जोखिम न्यूनीकरण पोर्टलका तथ्याङ्कलाई आधार बनाइएको छ । विगत ४८ वर्ष (सन् १९७१ देखि सन् २०१९ सम्म)को बाढी प्रकोपको छोटो विवेचना गरिएको छ ।
बाढी लगभग सबै किसिमको धरातलमा आउन सक्छ । जहाँसुकै पानी भएको ठाउँमा बाढी आउन सक्ने अनुमान लगाउन सकिन्छ। भारी वर्षा हुने क्षेत्र, हिउँ पग्लिने सम्भावना भएका क्षेत्रहरू, नदी तट र ताल तटजस्ता पानीका स्रोतहरू वरपर बाढी आउने सम्भावना बढी हुन्छ ।
बाढी प्रकोपको जोखिममा पर्ने सामान्य क्षेत्रहरूमा, मैदानी क्षेत्र, तल्लो तटीय क्षेत्रहरू, कमजोर पानीको निकास भएका सहरी क्षेत्रहरू, नदी र पहाडी किनारहरूलाई बाढीको प्रकोप हुन सक्ने क्षेत्रमा समावेश गरिन्छन् ।
नेपालको उत्तरपट्टी रहेको हिमालय क्षेत्रमा वर्तमानको ग्लोबल वार्मिङका कारण बढ्दै गएको तापक्रमले अतिरिक्त हिउँ पग्लने क्रम जारी छ । जसका कारण हिमाली भेगमा वर्षा नहुँदै पनि नदीहरूमा पानीको वहाब बढ्ने गरेको छ र साथै त्यस भेगमा रहेका हिमताल फुटेर बाढी आउने गरेको छ । त्यस्ता बाढीका संख्या कम भएका भए पनि त्यसबाट हुने क्षतिको मात्रा अत्यधिक हुने गरेको छ ।
नेपालको बीचमा रहेको पहाडी भागमा अत्यधिक मानवीय क्रियाकलापका कारण भू-क्षयमा तीव्रता आएको छ । यसले गर्दा नदीका किनारी भागमा निर्माण गरिएका संरचनाहरू बाढीको प्रकोपको चपेटामा पर्ने गरेका छन् ।
नेपालको तराई प्रदेश बाढी प्रकोपको पर्यावाचीजस्तै बनेको छ । प्रत्येक वर्ष तराईमा ठूलो मात्रामा धनजनको क्षति हुने गरेको छ । यसरी विगत ४८ वर्षको अवधिमा जम्मा ४३ सय बाढीका घटना रेकर्ड भएका छन् । ती घटनाहरू पूर्वी तराईमा अत्यधिक छन् ।
सुदूरपूर्वको झापा जिल्लामा सबैभन्दा बढी (२३२ घटना) बाढी प्रकोपको घटना रेकर्ड गरिएका छन् । त्यसपछि क्रमश: रौतहट (२२१ घटना), सर्लाही (१९७ घटना), मोरङ (१८० घटना), सप्तरी (१८० घटना), सुनसरी (१५४ घटना) र कैलाली (१५० घटना) रहेका छन् ।
बाढी प्रकोपको कारण सोही अवधिमा जम्मा तीन हजार पाँच सय ६७ जनाको ज्यान गुमेको रेकर्ड छ । बढी मानव क्षति हुने जिल्लाहरू क्रमश: सर्लाही (७३४ जना), मकवानपुर (२५६ जना), सिन्धुली (२३९ जना), रौतहट (१८३ जना), चितवन (१७० जना), मोरङ (१२० जना) र झापा (११२ जना) रहेका छन् ।
नेपालमा बाढी प्रकोप न्यूनीकरणका विकल्पहरू
सूचना नेटवर्क : अहिलेको संसारमा सूचनाको पहुँच एक शक्तिशाली औजारको रुपमा प्रयोग हुँदै आएको छ । बाढी प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न सूचनाको महत्त्वपूर्ण भूमिका हुन सक्ने कुरामा दुई मत हुन सक्दैन । संसारमा अहिले विभिन्न किसिमका मौसम सम्बन्धित सूचनाहरू विभिन्न सेटलाइटहरूबाट उपलब्ध गर्न सकिन्छ ।
उक्त सूचनाहरू एक क्लिकको भरमा देशभर पुर्याउन सकिन्छ । जसको लागि दूरसञ्चार प्रदायक कम्पनीको सहयोग लिन सकिन्छ । हाल नेपालमा झन्डै ७५ प्रतिशत नेपाली जनतामा मोबाइल फोनको पहुँच रहेको छ । उक्त सञ्चारको माध्यमबाट सम्भावित वर्षाको पूर्वानुमान र बाढी जान सक्ने सम्भावित क्षेत्रहरूको पहिचान गरी सूचना प्रसार गरी स्थानीय बासिन्दाहरूलाई सजग गराई क्षति कम गराउन सकिन्छ ।
प्रतिधारण पोखरीहरू : नेपालको हिमाली र पहाडी भागमा असंख्य खोंचहरू रहेका छन् । ती खोंचहरूमा स-साना परियोजनाबाट अस्थायी रिटेन्सन पोखरीहरू निर्माण गरी अतिरिक्त आँधीबेहरीको पानीलाई सङ्कलन गरी, आँधीबेहरीको समाप्तीपछि क्रमशः छोडिन्छ र यस प्रक्रियाले परम्परागत पानी निकास प्रणालीमा पर्ने दबाब कम हुन्छ र बाढीको जोखिम पनि कम हुन्छ ।
अर्थात् ती मानव निर्मित स-साना पोखरीहरूमा पानीलाई अस्थायी रूपमा रोकेर राखिन्छ र भारी वर्षा सकिएपछि संकलित पानीलाई नियन्त्रित दरमा छोडेर तल्लो तटीय क्षेत्रमा हुन सक्ने बाढीको जोखिमलाई कम गर्न सकिन्छ । यस्ता किसिमका परियोजनाहरू स्थानिय निकायहरूबाट नै देशभर सञ्चालन गरी बाढीको जोखिमलाई कम गर्न सकिन्छ ।
मेगा प्रोजेक्टहरू : वर्तमान समयमा भएको विज्ञान र प्रविधिको विकासले असम्भवजस्तो लाग्ने लगभग सबै जसो कुराहरू सम्भव तुल्याएको छ । भारत सरकारले विस्तृत नदी जोड परियोजना अन्तर्गत एक-आपसमा नहर वा कृत्रिम नदीहरू निर्माण गरेर धेरै नदीहरूलाई जोड्ने परियोजना अन्तर्गत काम गरिरहेको छ । यसको मुख्य उद्देश्य बाढीग्रस्त क्षेत्रहरूबाट खडेरीग्रस्त क्षेत्रहरूमा अतिरिक्त पानी स्थानान्तरण गर्नु हो ।
क्यानाडामा रहेको कोलम्बिया नदीको पेन्टिकटन बाँध निर्माणको लागी अमेरिकाले ठूलो मात्रामा लगानी गरेको थियो । यसको मुख्य उद्देश्य उक्त नदीको सम्भावित बाढीबाट अमेरिकाको वासिङ्टन राज्यमा हुन सक्ने बाढीको प्रकोपबाट संरक्षण गर्नु थियो । यसरी अमेरिकाको सम्भावित बाढी प्रकोप न्यूनिकरण गर्न क्यानाडाको जमिन डुबानमा पर्ने गरी बनाइएको पेन्टिकटन बाँधवापत वार्षिक रूपमा अमेरिकाले क्यानाडा सरकारलाई रोयल्टी बुझाउने गरेको कुरा पत्रिकाहरूमा पढन पाइन्छ ।
पाकिस्तान भएर सिन्धु नदीको अपर रिपेरियन क्षेत्रमा भारत सरकारले विभिन्न बाँधहरू निर्माण गरी बाढी सम्भावित क्षेत्र र सुखा क्षेत्रबीच समायोजन गर्दै आएको छ । गएको मे महिनाको ७ तारिख २०२५ देखि मे १० तारिख २०२५ सम्म भारत र पाकिस्तानबीच द्वन्द्व बढेको बेला ती माथिल्लो नदी क्षेत्रमा निर्माण गरिएका बाँधहरूलाई दुरुपयोग गर्ने धम्कीसमेत भारत सरकारले गरेका समाचारहरू आएका थिए ।
नेपाल भारत र बंगलादेशका लागि अपर रिपेरियन क्षेत्रमा पर्ने मुलुक हो । नेपालबाट बहने नदीहरूले भारत र बंगलादेशका क्षेत्रहरूमा सुख्खा हुने हिउँदको समयमा सिँचाइको लागि महत्वपूर्ण भूमिका खेल्छन् भने वर्षायाममा बाढीको समस्या सिर्जना गर्दछन् ।
यस्तो परिस्थितिमा हिउँदमा पानीको आपूर्तिलाई सन्तुलन राख्न र वर्षातको समयमा बाढीको प्रकोपबाट बच्न त्रिदेशीय सहकार्य र साझेदारीमा विभिन्न नदीहरूलाई नेपालमा रहेका पहाडका फेदीहरूमा सुरुङहरू निर्माण गरी एक-अर्कासँगै आन्तरिक नदी जोडजस्तो मेगा परियोजनाहरूको अवधारणाको सुरुवात प्रयासमा किन बिलम्ब गर्ने ?






