“ए ल! गाडीले मान्छे हानेछ!” — आत्तिएको स्वरमा सुरेशले कराए । बिहानीको समय थियो। सुरेश चोकतिर हिँडिरहेका थिए । अचानक आँखै अगाडि भएको दुर्घटना देखेपछि उनी दौडँदै घटनास्थलतर्फ लागे । मानिसहरूको भीड जम्मा भइसकेको थियो ।
“को हो मान्छे ? कसलाई हानेको हो ? अवस्था कस्तो छ ?” भीडबाट विभिन्न आवाजहरू आउन थाले । “बुढी आमा रे बाटो काट्दै थिइन् । गाडी पनि कति छिटो कुदाएको ! पूरै बाटोमा रगतै रगत छ । अब त पुलिसलाई खबर गर्नुपर्छ,” अर्को आवाज आयो ।
तर अधिकांश मानिसहरू रमिता हेर्ने र मोबाइलले फोटो वा भिडियो खिच्नमै व्यस्त देखिन्थे । यो देखेर सुरेशले गम्भीर आवाजमा भने, “तुरुन्त अस्पताल पुर्याउन पाए बाँच्न सक्थिन् कि ?” तर भीडबाट कोही बोल्यो, “लाँदैमा बाटोमै केही भए भने ? आफैं अप्ठ्यारो पर्न सक्छ ।
घरपरिवार को हुन्, केही थाहा छैन । पछिल्तिर झन्झट होला । फेरि खल्तीमा पैसा पनि छैन । पुलिसलाई खबर गरौँ न ।” सुरेश चुप लागेनन् । उनी दृढ स्वरमा बोले, “घाइते मर्नै लागेकी छिन् । पहिला अस्पताल लैजाऔँ, बाँकी कुरा पछि गरौँला ।”
उनी स्वयंले एम्बुलेन्स बोलाए । त्यति बेला प्रहरी पनि आइपुगे । घाइतेलाई एम्बुलेन्समा राखेर अस्पतालतर्फ पठाइयो । त्यसपछि सुरेश केही छिन स्थिर भए । मनमनै सोच्दै थिए- “आजका मानिसहरू मानवीय धर्मभन्दा पनि प्रचारबाजीमा किन यति रमाउँछन् होला ?”






