आजभोलि ‘म झोले हो’ भन्ने शब्द प्रति सामाजिक सञ्जालदेखि चिया गफसम्म टीका टिप्पणी भइरहेका छन् । कसैले यसलाई नकारात्मक अर्थमा बुझेका छन् त कसैले यसलाई व्यङ्ग्यका रूपमा हेरिरहेका छन् । तर के हामी एकछिन थामिएर सोच्न सक्दैनौं – शब्द आफैं खराब हुन्छ कि हाम्रो सोच ?
नेपाली भाषाविद् र व्याकरणविद्हरू भन्छन्- ‘म झोले हो’ व्याकरणत: त्रुटिपूर्ण हो, ‘म झोले हुँ’ भन्न चाहि मिल्छ । तर, भाषाभन्दा पनि यहाँ गहिरो प्रसंगको विषय उठेको छ – आत्मपहिचान, साहस र शब्द प्रति हाम्रो दृष्टिकोणको । जब प्रधानमन्त्रीजस्तो उच्च पदस्थ व्यक्तिले यो वाक्य प्रयोग गर्छन्, त्यसले केवल भाषिक बहस मात्र होइन, समाजको सोच परिवर्तन गर्ने अवसर पनि दिन्छ ।
शब्दको अर्थ हामी बनाउँछौं
हाम्रो समाजमा कुनै शब्द कुनै सन्दर्भमा प्रयोग हुँदा त्यसको अर्थ विकृत गरिन्छ । जस्तै – ‘I Love You’ भन्नु आजकल तनावको कारण बनिसकेको छ । तर यो तीन शब्दको भावनालाई विस्तारमा बुझ्ने हो भने, यसले केवल प्रेमिकालाई मात्र होइन, आमाबुबा, दाजुभाइ, दिदीबहिनी, साथीभाइ सबैलाई समेट्छ । तर समाजले त्यसलाई संकुचित बनाइदियो – ‘यो त केवल रोमान्टिक प्रेमको शब्द हो’ भनेर । फलत: यो शब्द तनाव, संकोच र अपव्याख्याको शिकार बन्यो ।
यस्तै उदाहरण हो – ‘Boyfriend’ वा ‘Girlfriend’ शब्दको प्रयोग । नेपालीमा यसलाई ‘केटा साथी’ वा ‘केटी साथी’ भनिन्छ । तर हाम्रो समाजले यसलाई यति नकारात्मक रूपमा बुझ्न थालिसकेको छ कि छोरीले आमालाई ‘केटा साथीलाई भेटेर आएँ’ भन्न सक्दिनन् । केटाले बुवालाई ‘केटी साथी’ भेटेर आएको छु भन्न सक्दैन । बरु रमेश वा मिना भनेर ‘लिङ्ग निर्दोष’ नाम लिन्छन् । यति विकृत सोच लिएर हामीले आगामी पुस्तालाई कस्तो भाषा र मनोविज्ञान सुम्पन खोजेका हौं ?
शब्दको पुनर्जन्म : ‘झोले’को अर्थ नयाँ आशा
‘झोले’ भन्ने शब्द विगतमा एक किसिमको व्यङ्ग्य वा उपहासजन्य शैलीमा प्रयोग हुने गर्थ्यो – जस्तो कि कुनै राजनीतिक कार्यकर्तालाई गिज्याउने । तर, आज यदि यो शब्द कुनै देशको प्रधानमन्त्रीले आत्मविश्वासका साथ बोलेका छन् भने, त्यसको अर्थ फरक हो – उनी आत्मस्वीकृति गर्छन्, कार्यकर्ता प्रति गर्व गर्छन् भन्ने सन्देश दिन खोजिएको हो ।
त्यसैले ‘म झोले हो’ भन्न सक्नु कमजोरी होइन, बरु आत्मसम्मानको अभिव्यक्ति हो । यो त्यही व्यक्ति हो जसले बोझा बोक्दछ, साथ दिन्छ, जनताको मर्म बुझ्छ र संगठनका जरा बनाइदिन्छ । हामीले यस्ता शब्दलाई गिज्याउने होइन, गौरवको रूपमा लिन सक्नुपर्छ ।
सकारात्मक दृष्टिकोणको आवश्यकता
समाज अहिले नकारात्मक धारणा र भाषिक पूर्वाग्रहको भारी बोकेर हिँडिरहेको छ । हाम्रो सोच र सामाजिक शिक्षा यति कमजोर भइसकेको छ कि साधारण शब्द वा अभिव्यक्तिमा पनि अपराधको बोध हुन्छ । तर, हामीले यी पूर्वाग्रहका शृंखलाहरू काट्न जरुरी छ । ‘केटा साथी’, ‘I Love You’, ‘झोले’ जस्ता शब्दलाई सही सन्दर्भमा बुझ्ने र प्रस्तुत गर्ने साहस राख्नुपर्छ ।
हामी भाषा सुधार्ने काम केवल व्याकरण सुधार गरेर होइन, भावना सुधारेर गर्न सक्छौं । जसरी गीतामा भनिएको छ – “जे भयो राम्रै भयो, जे भइरहेको छ राम्रै भइरहेको छ, जे हुनेछ, त्यो पनि राम्रै नै हुनेछ” – ठीक त्यसैगरी हामीले सोच्ने दृष्टिकोण परिवर्तन गर्न सके समाजका धेरै शब्दहरू फेरि पनि पवित्र र स्वीकार्य बन्न सक्छन् ।
शब्द होइन, सोच बदलौं
‘म झोले हो’ भन्ने शब्द एक बहसको विषय त हो, तर यो बहसले हामीलाई शब्दको सतहभन्दा गहिरो भावमा लैजान सक्नुपर्छ । अब समय आएको छ, भाषामा भएका सकारात्मक पक्ष पहिचान गर्न, सोच सुधार्न र सामाजिक व्यवहारलाई सम्याउन । हाम्रा सन्तानले प्रश्न नगरोस् – ‘के यो भन्न हुन्न ?’ बरु उनीहरू निर्धक्क भनून् – ‘हो, म झोले हो, किनभने म साथ दिन्छु, सेवा गर्छु र इमान्दार छु ।’
शब्दहरूलाई न्याय गरौं, सकारात्मक सोच राखौं । शब्द हाम्रो शत्रु होइन – हाम्रो शक्ति हो ।






