पश्चिम नवलपरासी । प्रतापपुर गाउँपालिका ६ लाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा गरिएको छ । शुक्रबार आयोजित एक विशेष समारोहमार्फत उक्त घोषणा गरिएको हो ।
प्रतापपुर गाउँपालिकालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका बनाउने लक्ष्य अनुसार वडाले आवश्यक सम्पूर्ण मापदण्ड पूरा गरेपछि वडा नं. ६ लाई सेवा युक्त वडाको रूपमा घोषणा गरिएको गुठी परसौनी स्वास्थ्य चौकीका प्रमुख मनोज गिरीले जानकारी दिए ।
वडामा चालू आर्थिक वर्षमा ८८ जना महिलाले स्वास्थ्य संस्थामार्फत सुरक्षित प्रसूति सेवा लिएको आधारमा यो उपलब्धि सम्भव भएको हो । कार्यक्रमकी प्रमुख अतिथि तथा प्रतापपुर गाउँपालिकाकी उप–प्रमुख मान कुमारी चौधरीले दीप प्रज्वलन गरी वडालाई सेवा युक्त घोषणा गरेका थिए ।
उनले लुम्बिनी प्रदेश सरकारले तय गरेका स्वास्थ्य मापदण्ड पूरा गरेपछि मात्र घोषणा गरिएको स्पष्ट पार्दै, “घोषणा मात्रै गरेर पुग्दैन, यसको दिगोपन र प्रभावकारिता सुनिश्चित गर्न वडा बासी, स्वास्थ्यकर्मी, महिला स्वयंसेविका तथा जनप्रतिनिधि सबैको सक्रिय सहभागिता अपरिहार्य छ,” भन्ने धारणा व्यक्त गरे ।
पालिका स्वास्थ्य शाखा प्रमुख मन्तोष मुरावले यो घोषणासँगै प्रतापपुर गाउँपालिकाका सबै वडाहरू पूर्ण संस्थागत प्रसूति सेवायुक्त घोषित भइसकेको जानकारी दिए । अब केही दिनभित्र प्रदेशस्तरको अनुगमनपछि प्रतापपुर गाउँपालिकालाई पूर्णरूपमा सेवा युक्त पालिका घोषणा गर्ने तयारी भइरहेको उनको भनाइ थियो ।
कार्यक्रममा उप–प्रमुख चौधरी, वडा सदस्य कन्हैया कुमार हरिजन लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीहरूलाई सम्मान समेत गरिएको थियो ।
समारोहमा वडा अध्यक्ष केशव प्रसाद अधिकारीको अध्यक्षता, इन्द्रेणी सामाजिक विकास संस्थाकी विद्या यादवको स्वागत मन्तव्य तथा स्वास्थ्य चौकी प्रमुख मनोज गिरीको सञ्चालनमा सम्पन्न भएको थियो ।




