प्रिय !
आकाशमा चम्किने नौ लाख तारा
दुई तारा ल्याई लुर्कना बनाई
तिम्रा बुच्चा कानहरुमा
झुन्डाइदिन सके कस्तो हुँदो हो !
तर प्रिय !
ती तारा टाढा आकाशमा रहनाले नै तारा छन्
हातले टिप्न सक्ने फलझैँ –
फल्दा हुन् त ती तारा पनि रुख-रुखमा
तारा नभई झटारा हुन्थे
देख्न लाशाको सून जस्तो ।
टाढा छन् – त्यसैले तिनको सम्मान छ
कवि-कलाकारको मुखमा
ताराको गुण-गान छ
उनीहरुकै तथ्य खोज्नमा
व्यस्त विज्ञान छ
को छन् लाशाको सूनमा
कविता लेख्ने ।
पृथ्वीका जीवले –
आकाशका ती तारालाई
मात्र देख्दछन् तारा
टाढा देख्ने ती आँखाले
देख्न सकेनन् वरि-परिका
पृथिवीका तारा
वीरे, रामे, श्यामे, कति तारा छन् पृथ्वीमै
तर देख्ने कसले ?
तारा भएरै पनि ती बिचारा !
गाँस-वासको डोहो-डोहोले
पिई आँसुका नुनिला धारा
गनी टाढाका तारा
जनावर जस्तै हीन भएर
बिताइरहेछन् जीवन सारा !
लाशाको सून के सून
आकाशको तारा पो तारा !!
न त्यो सूनमा छ आफ्नोपन
क्यै एक सूर्यको ज्योतिमा नै
ती सूनको अस्तित्व हराउँछ
त्यो सूनले –
हर्के, वीरे, श्यामे सारा्
कसले चिन्ने यिनीहरुलाई ?
चिन्न सके त –
एक हर्केमा, एक वीरेमा
एक एक सूर्यको शक्ति निहित छ
एक श्यामेको, एक रामेको
विवेक-ज्योतिले विश्व सिँगार्छ ।
अन्धो पृथिवी – अन्धा हामी
हाम्रा लागि घरको दूध पानी सरि छ
नौ लाख तारा टाढा हुनाले तारा छन्
रामे, श्यामे, हर्के, वीरे झटारा छन् ।
भयो प्रिय !
आकाशका ती तारा ल्याई
लुर्कना किन लाउने ?
पृथ्वीका तारा सहयार्न किन नथाल्ने ?
प्रिय, अझै अलिक दिन बुच्चै बसिद्यौ !
बुच्चा कानमा लुर्कना होइन
पृथिवीका रत्न बटुली
तिम्रो मनको कालो आकाशमा
ज्योति सजाउँला !






