काठमाडौं । २०७४ सालको संविधानसभा निर्वाचन अघिको रात । रौतहटको राजपुर फरहदवास्थित एक इँटाभट्टामा भएको बम विस्फोटमा घाइते भएका भारतीय नागरिक गौरीशंकर राम चमारको घाउ अझै ताजा छ- शरीरमा पनि, मनमा पनि ।
भारतको बिहार, सितामढीका ४३ वर्षीय गौरीशंकर त्यतिबेला नेपाली कांग्रेसका नेता मोहम्मद अफ्ताब आलमको इँटाभट्टामा काम गर्थे । उनी भन्छन्- “पैसा लिन अफ्ताबको घरमा बोलाए । त्यहाँ बम बनाउने काम चलिरहेको रहेछ । अचानक विस्फोट भयो । म बचें, तर कान उड्यो, अनुहार, घाँटी र छातीमा गम्भीर चोट लाग्यो ।”
बम विस्फोटपछि गाउँलेहरूले उनलाई उठाएर भारत पुर्याए । आँखा खोल्दा आफु सितामढी अस्पतालमा थिए । “आमाले भनिन्- चिन्ता नगर, ठीक हुन्छस्,” गौरीशंकर सम्झिन्छन्, “तर त्यो दिनले मेरो जिन्दगी नै बदलिदियो ।”
घटनापछि तीन महिनासम्म उपचार गराए । साढे ३ लाख भारतीय रुपैयाँ खर्च भयो । तर, अफ्ताब आलमले एकचोटि पनि न सोधेको, न सहयोग गरेको उनी बताउँछन् । “उसले मान्छे मारेको छ, मलाई पनि नाजुक बनायो । त्यो छुट्नु न्याय होइन,” पीडित गौरीशंकर भन्छन् ।
उनले बम विस्फोटको पुष्टि गर्दै भने- “म त्यहीँ थिएँ, बम विस्फोट भयो । त्यहाँ मान्छेहरू जलेका थिए, म भागेर पानी हाल्न पुगेँ । कसरी भारत पुगेँ, थाहा भएन । अदालतले फैसलामा बम विस्फोट नै भएन भनेको छ, त्यो त ठूलो अन्याय हो ।”
उनको अनुसार, विस्फोट अफ्ताब आलमका काकाको घरमा भएको थियो । घटनापछि अफ्ताबका समर्थकले धम्कीसमेत दिएको उनले आरोप लगाए । “आफ्नो मान्छे आएर मेरी आमालाई भने- तेरो छोरा बाँच्छ जस्तो छैन, अब केही वर्ष मात्र बाँच्छ,” गौरीशंकरको भनाइ छ ।
अदालतबाट अफ्ताब आलम सफाइ पाएपछि उनी निराश छन् । “बम बनाउने, मान्छे जलाउने, धम्की दिने मान्छे छुट्यो, हामीजस्ता पीडितले न्याय पाउने हो कि होइन ?” प्रश्न गर्छन् उनी । उनको शरीर अझै अपांग छ । कान गुमेको छ, अनुहारमा गहिरो चोट छ । काम गर्न सक्दैनन्, जीविकोपार्जन गर्न सक्दैनन् । “म मर्ने कि बाँच्छु थाहा छैन,” भन्छन्, “यो दुनियाँमा बाँच्न कसरी सकुँ ?”
गौरीशंकर अहिले भारतको सितामढीमा पीडाको जीवन बिताइरहेका छन् । न्यायको पर्खाइमा उनी अझै अदालत, सरकार र मानवता माथि भरोसा राखिरहेका छन् ।




