संस्कृत भाषाको ‘सहित’ शब्दमा ‘यत्’ प्रत्यय लागेर साहित्य शब्दको निर्माण भएको हो । आदिकालमा काव्यलाई नै साहित्य भनेको पाइन्छ भने साहित्यको विकाससँगै काव्यले कविता विधालाई र साहित्य शब्दले कथा, कविता, उपन्यास, नाटक, निबन्ध जस्ता सबै विधालाई समेटेको पाइन्छ ।
पूर्वीय विद्वानहरूले साहित्यलाई कसैले शब्द र अर्थको सहभाव भनेका छन् भने कसैले गीतले युक्त भावलाई साहित्य मानेका छन् । त्यस्तै पाश्चात्य जगतमा कल्पनाको माध्यमबाट विशिष्ट शैलीमा रचिएका कृति वा रचनालाई साहित्य मानेका छन् । पूर्वीय र पाश्चात्य दुवैतर्फका विद्वानहरूले साहित्यलाई विभिन्न कोणबाट परिभाषित गरेको पाइन्छ ।
नेपाली भाषाको विकाससँगसँगै नेपाली साहित्यको विकास भएको पाइन्छ । १९ औं शताब्दीमा पृथ्वीनारायण शाहको नेपाल एकीकरणसँग सँगै नेपाली साहित्य पनि अगाडि बढेको पाइन्छ । वि.सं. १८२६ सालदेखि नेपाली साहित्य कविता विधाबाट प्रारम्भ भई साहित्य लेखनको यात्रा कथा, उपन्यास, निबन्ध, नाटक हुँदै क्रमश: अगाडि बढेको पाइन्छ ।
साहित्य साधना, भावना, अध्ययन र समर्पण हो । गुणयुक्त विशिष्ट पद रचनालाई कलात्मक ढङ्गले कथा, कविता, उपन्यास, नाटक लगायत विभिन्न विधामा कलम चलाउनु, पाठकलाई मनोरञ्जनका साथै मार्गदर्शन गर्नु नै साहित्य हो । यो एक विशाल सागर हो, जहाँ मान्छेका अनुभव, जीवन भोगाइका, सत्य–तथ्य, तिता–मिठा क्षण, कहीँ कल्पना मिश्रित झिलिमिली प्रतिबिम्बहरू, अनुभवका मोतीहरू प्रतिबिम्बित हुन्छन् ।
भावनाका गहिरा रहस्यमय छालाहरूको शब्दपुञ्ज हो । अर्को शब्दमा भन्नुपर्दा साहित्य दुखेका घाउहरूको मलम, आवाजविहीनहरूको आवाज हो । समाज परिवर्तनको एक स्पष्ट ऐना हो । जसरी हजारौं मुहान, झरना, खोला, नदीहरू मिलेर विशाल महासागरको निर्माण हुन्छ, हो, त्यसैगरी लघुतम कवितादेखि बृहत्तर महाकाव्यसम्म अटाउने संरचना साहित्य हो ।
जीवनको पर्याय हो । देश, काल, परिस्थिति, जाति, वर्ग, समुदायलाई जीवन्त राख्ने माध्यम हो । साहित्य शब्दलाई परिभाषित गर्न मुस्किल छ । जसरी पानीको कुनै ठोस आकृति हुँदैन, पानीलाई जुन रङमा मिसायो, त्यही रङमा घुलिन्छ । अन्तरआत्मादेखि प्रस्फुटन भएको भावनात्मक संरचनाहरूलाई विभिन्न छन्दमार्फत विभिन्न लेख, विधामा परिमार्जन गरी प्रस्तुत गरिने एक कला हो साहित्य ।
साहित्य ज्ञानको महासागर हो । सागरको माझमा डुबुल्की मार्दा अमूल्य रत्नहरू भेटिन्छन् । त्यसैगरी साहित्यको सागरमा डुबुल्की मार्दा ज्ञानरूपी रत्नहरू भेटिन्छन्, जसले जीवन जिउनका लागि प्रेरणा दिएर ऊर्जा प्रदान गर्दछ ।
साहित्य हृदयको स्पन्दन हो । यो एक जीवन–जगतसँग सम्बन्धित व्यापक विधा हो, जसलाई एउटा सर्जकले जुन रूपमा अनुभूति गर्छ, सोही रूपमा उसले आफ्ना सिर्जना अभिव्यक्त गर्ने काम गर्छ । इतिहास, पुराण, पुराकथा वा समाज आदिबाट उपजीव्य वस्तु लिएर रस, छन्द, अलङ्कार आदिले सजाई रचना गरिएका गद्य, पद्य कृति, जुन देश वा जातिको व्यवहारिक वा भावनात्मक विषयसँग सम्बन्धित ग्रन्थ, लेख नै साहित्य हो ।
साहित्यकारको मनबाट उत्पन्न हुने मौलिक साहित्य चाहिँ सिर्जनात्मक साहित्य हो । यसलाई ललित वा भावुक साहित्य पनि भनिन्छ । मौखिक रूपमा बाँचिरहने धारालाई लोकसाहित्य, लिखित सामग्रीकै रूपमा बाँचिरहने साहित्य चाहिँ अभिलेख साहित्य भनेर चिनिन्छ ।
कसैले नदेखेका कुरा, नदेखेको ठाउँ वा देखेर पनि नदेखेजस्तो गरेका घटना, परिवेश, परिवार, समाज, देशका जुनसुकै कुनामा छरिएर रहेका त्यस्ता घटनालाई साहित्यकारले देख्छ, जुन कलमद्वारा लिखित दस्तावेजका रूपमा पाठकसमक्ष पुर्याउँछ ।
वास्तवमा साहित्यले रसास्वादन गर्नुका साथै देश, काल, परिस्थितिलाई पनि जस्ताको तस्तै चित्रण गर्ने काम गर्छ । “विगतलाई सम्झेर वर्तमान चल्दैन, जब वर्तमान नै चलेन भने भविष्य कदापि सप्रँदैन” भनेझैँ, साहित्यले विगतलाई औल्याउन, वर्तमानलाई दिशानिर्देश गर्नुका साथै भविष्यलाई मार्गदर्शन गर्न महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।
आत्मसुखका लागि साहित्य संजीवनी हो । यसले व्यक्तिको चेतनाको स्तरलाई माथि उठाउँछ । जीवनका सौन्दर्यानुभूतिमय सिर्जनाको भव्य संयोजन गर्दै समाज रूपान्तरणका लागि मानवीय संवेदनालाई जगाउँछ । साहित्य जीवन जिउने कला हो । समाजमा देखिएका राम्रा कुरालाई हौसला प्रदान गर्न र नराम्रा कुरीति, कुसंस्कारलाई निरुत्साहित पार्न भावनाको फूलबारीमा शब्दहरूको फूल फुलाएर, कुनै पनि विधाको धागोमा उनेर एउटा सुन्दर माला बनाउने खुबी नै वास्तवमा साहित्य हो ।






